Logo

२२ मंसिर,काठमाडौं । यू–१९ एसिया कपको जारी खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। ५० ओभरको खेलमा ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको हो।

उत्तम थापा मगरको अर्धशतकीय पारीमा नेपालले उक्त लक्ष्य दिएको हो। नेपाली ब्याटिङ लाइन धर्मराएको समयमा उनले इनिङ उकास्दै अर्धशतक समेत बनाएका हुन्।

७६ बलको सामना गरेका उनले ५१ रन बनाएर बाहिरिए। अमिर हसनले आफ्नै बलमा क्याचआउट गर्दै उत्तमलाई पेभेलियन फर्काए।

त्यसअघि ओपनर अर्जुन कुमाल ३७ बलमा २१ रन बनाएर आउट भएका थिए। उनी मोहम्मद जीसमको बलमा विकेटकिपर साद बागबाट क्याचआउट भए।

नेपालका लागि दिपेश कँडेलले महत्त्वपूर्ण ३१ रनको योगदान दिए। उनले २ चौका र १ छक्काको मद्दतमा ५९ बलमा ३१ रन बनाए।
नेपालका अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्। कप्तान देव खनालले १३ बल सामना गर्दा शून्य रनमै पेभेलियन फर्किए। सिनियर टिमका नियमित सदस्य गुलशन झाले समेत पाकिस्तानी बलर झेल्न सकेनन्। उनी ४ बलमा ३ रन बनाएर बाहिरिए।

सुवास भण्डारी ८, आकाश चन्द ५, ओपनर तिलक भण्डारी ७, विशाल विक्रम केसी १ र विपिन रावल शून्यमै बाहिरिए।

पाकिस्तानका मोहम्मद जीसमले उत्कृष्ट बलिङ गर्दै नेपाललाई १५३ रनमै समेट्न सघाए हुन्। ९.२ ओभर बलिङ गरेका उनले जम्मा १९ रन खर्चिएर ६ विकेट लिए। त्यसैगरी आमिर हसनले १० ओभरमा जम्मा १५ रन दिएर दुई विकेट लिएका हुन्।

त्यसैगरी उवैद शाह र अली अफसादले एक–एक विकेट लिए। टस जितेर फिल्डिङ रोजेको पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।


सम्बन्धित समाचार