Logo

२४ मंसिर, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मधेश सरकारको मुख्यमन्त्रीको नेतृत्वमा गएको टोलीसंग भेटघाट भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा संविधानको व्यवस्थाबमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल गरिएको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टीमले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

भेटमा मुख्यमन्त्री यादवको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भने,‘ एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई दिएको ‘अल्टिमेटम’ सकिएको छ, अब हामीहरु संघर्षमा जानेछौं ।’

जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै संघीयताको जन्मदाता भएको स्पष्ट पार्दै संघीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘‘संघीयता निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो, संघीयताको पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ। संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको संघर्ष र पहल तपाईहरूले देख्नुभएकै छ । अहिले पनि संघीय कानुनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु। तपाईहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ। तपाईहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र संघीयता कार्यान्वयन प्रभावकारी बनाउँ।’’

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सरकारले संघीयता सम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको छ। तर, त्यसको अन्तिम फैसला संसदले गर्नुपर्छ। त्यसका लागिसमेत तपाई–हाम्रो संयुक्त पहल जरूरी छ। त्यसैले अहिले सङ्घर्षका कार्यक्रमलाई थाँती राखेर थप पहलमा केन्द्रित होऔं।’’

छलफलमा प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए ।


सम्बन्धित समाचार