Logo

२५ मंसिर,वीरगञ्ज । पर्साको विन्दवासिनी कोइलाभार बढनिहार साझेदारी वन व्यवस्थापन समूह चुनाव यही शुक्रबार मात्रै सम्पन्न भयो ।

धेरै रस्साकस्सीका बीच सम्पन्न चुनावमा १९ मतको अन्तरले महम्मद रिजवानुलहक विजयी बने । उनको निकटम प्रतिद्वन्द्वी मनोज यादवले ११९ मत ल्याएका थिए ।

अध्यक्षमा निर्वाचित महम्मदले भने १३८ मत प्राप्त गरेका थिए । यसमा पर्सा जिल्लाका ४० वटा वडाबाट चुनिएका प्रतिनिधहरु भाग लिएका थिए, जहाँ २६२ मत खसेको थियो ।

बढनिहार साझेदारी वन व्यवस्थापन समूहको यो चुनाव राजनीतिक दृष्टिकोणले अर्थपूर्ण थियो । किनकी, यसले जिल्लाको आगामी रुपरेखा तय मात्रै गरदिएको छैन, घाम जस्तै छर्लङ बनाइदिएको छ ।

यसबाट कांग्रेसभित्रको समीकरण नै फेरबदल भएको छ । त्यसकारण राजनीतिकरुपमा वनको चुनाव अर्थपूर्ण म्यासेज दिएको छ ।
देउवा गुटमा पनि फाटो

अर्थपूर्ण यो मानेमा छ कि प्रत्यक्षरुमा चुनावमा महम्मद र यादवको भीडन्त भएपनि अप्रत्यक्षरुपमा यहाँ जिल्लाका कांग्रेसी शीर्ष नेतृत्वको लडाइँ थियो ।

पर्सा जिल्लामा शेरबहादुर देउवाको गुट बलियो छ । तर यो चुनावमा देउवा गुट नै २ खेमा विभाजित भयो ।
कांग्रेसका मन्त्री एवम केन्द्रीय सदस्य रमेश रिजाल, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, पूर्वसांसद राजेन्द्रबहादुर अमात्यसहितका नेताहरुले आफ्नो पक्षबाट मनोज यादवलाई लडाएका थिए भने पूर्वमन्त्री एवम अर्का केन्द्रीय सदस्य अजयकुमार चौरसिया,पूर्वसांसद सुरेन्द्र चौधरी र प्रदेश सांसद श्याम पटेलसहितका नेताहरुले महम्मद रिजवाललाई लडाएका थिए ।

दुबै पक्षका नेताहरु आफ्नो पक्षका उम्मेदवार बलियो रहेको भन्दै जिताउन फिल्डमा उत्रे । मनोज यादवलाई जिताउन जिल्ला सभापति क्षेत्री फिल्डमा खडा थिए भने रिजवानलाई प्रदेश सांसद पटेल अर्को मोर्चा सम्हालिरहेका थिए । अन्ततोगोतवा पटेलले सम्हालेको मोर्चाका उम्मेदवार रिजवान विजयी बने ।

एमालेमा पनि हडकम

बढनिहार साझेदारी वन व्यवस्थापन समूहको चुनावले कांग्रेससंगै नेकपा एमालेमा पर्सामा पनि त्यही अनुपातमा कम्पन ल्यायो । त्यो कसरी भने कांग्रेसजस्तै पर्सा एमालेको नेतृत्व पनि दुई खेममा विभाजित थियो ।

एमालेका सांसद राजकुमार गुप्ताले आफ्नो पक्षका कार्यकर्ताहरुसंगै एउटा ‘टीम’ बनाएर मनोज यादव समूहलाई समर्थन गरेका थिए भने सांसद प्रभु हजरा, मेयरद्वय गोकर्ण पाठक र यसन्त यादवसहितका नेताहरुको समूहले रिजवान पक्षलाई समर्थन गरेको थियो ।
यो चुनावले पार्टीभित्र दबदबा कायम राख्ने सांसदको गुप्ताको अवस्थालाई चिरफार मात्रै गरेन, उनको राजनीतिक हैसियतलाई नै उदांङगो बनाइदियो ।

किनभने उनी समर्थन जनाएका न मनोज यादव समूहलाई जिताउन सके न त आफ्ना उम्मेदवारलाई । तर रिजवान पक्षमा लागेका नेतृत्वले भने आफ्नो कार्यकर्तालाई जिताउन सफल भयो ।

किन भयो यस्तो ?

कुरा गरौं, कांग्रेसको । पर्सा कांग्रेस नेतृत्वमा अहिले एकलौटी पार्टी चलाउने प्रवृति हाबी हुँदै गएको कांग्रेसवृतमा चर्चा छ । एकलौटी चलाउने मात्रै होइन, आफ्नो गोजीको मान्छेलाई हरेक अवसर दिने प्रवृति बढ्दो छ ।

यही मनोदशाले ग्रसित कांग्रेस नेतृत्वले वनको चनुावमा पनि आफू निकटलाई उम्मेदवार बनाउनेतर्फ केन्द्रीत भयो, बनायो पनि ।
राजनीतिक विश्लेषक भन्छन्,‘हो, उम्मेदवार बनाउँदासम्म त ठीकै थियो, तर त्यसपछि गहन छलफल गर्नुपथ्र्यो ।

एकजनालाई मात्र लडाउनुपथ्र्यो, किनभने यस्तो गरेको भए पार्टीभित्र आन्तरिक कलह उत्पन्न हुँदैन्थ्यो । तर यहाँ त्यो गरिएन, जसकारण यो अवस्थाको सृजना भयो ।’ उनको अनुसार मूलतः यहीकारणले पर्सा कांग्रेसमा फाटो आएको हो ।

उनलेभने,‘कांग्रेस मात्रै होइन एमालेले पनि यही बाटो अवलम्बन गर्‍यो ’ जसकारणले त्यो पार्टीभित्र पनि असन्तुष्टि बढ्यो । समूह विभाजन भए, आफ्नो राजनीतिक हैसियत देखाउन थालियो ।’ यद्यपी, एमालेको लागि यो आत्मघाती गोल साबित भयो,’ उनले भने ।
उनी भन्छन्,‘किनभने एमाले पार्टी नीति नियम र अनुशासनमा चल्ने पार्टीको रुपमा आफ्नो पहिचान बनाएको छ, तर यहाँ त्यो भएन । जसका कारण यो पार्टी पनि कांग्रेसकै बाटो तय गर्‍यो ।’

के पर्छ असर ?

यो व्यवस्थापन समूहको चुनाव बढनिहारमा सम्पन्न भयो, जुन सदरमुकामबाट धेरै भित्र्छ । तर यसको कम्पन भने बीरगञ्जसम्म रहयो । किनभने, यो चुनावलाई अर्थपूर्णरुपमा लिइएको थियो ।

राजनीतिक विश्लेषकहरुले जीत/हार जसको भएपनि पार्टीभित्र दीर्घकालीन असर पारेको आंकलन गरेका छन् ।
उनीहरुका अनुसार यही चुनावबाट एकअर्काप्रति ‘नेगेटिभ’ भावको बीजारोपण भएको छ । जुन बीजारोपणले अब हुने पार्टीको हरेक गतिविधिमा असर मात्रै गर्दैन, एक अर्कालाई कसरी कमजोर पार्ने त्यो खेलको थालनी भएको छ ।

सम्भवतः यो गतिविधिका कारण अब हुने चुनावमा अंक गणितीय हिसाब नै बिगार्न सक्ने गरी असर पारेको उनको विश्लेषण छ । अर्थात् वनको चुनावले विभाजित भएका नेतृत्वले अब एक अर्कालाई सिध्याउने खेलमा लाग्ने सम्भावना बढेको उनको बुझाइ छ ।

अर्को हिसाबले यो चुनावका कारण कांग्रेसमा नयाँ गुट बनाइदिएको छ । अजय चौरसिया, अजय द्विवेदी र सुरेन्द्र चौधरीसहितको एउटा गुट बनाएको छ भने रमेश रिजाल, राजेन्द्रबहादुर अमात्य र जनार्दन सिंह क्षेत्रीसहितको अर्को गुट बनेको छ । यो समीकरणको हिसाबले अब पर्सामा चौरसिया पक्ष बलियो रहेको चर्चा चुलिएको छ ।

पार्टीको चुनावसम्म यही समीकरण कायम रहयो भने जिल्लामा रिजाल पक्ष कमजोर बन्ने धेरै सम्भावना बढेको राजनीतिक विश्लेषक बताउँछन् । मूलतः यो चुनाव चौरसिया पक्षधरका लागि वरदान नै साबित भएको जानकार बताउँछन् ।


सम्बन्धित समाचार