Logo

२५ मंसिर,जनकपुर । मधेश आन्दोलनको क्रममा महोत्तरी स्थित एक गाउँमा सशस्त्र प्रहरी चढेको एक गाडीलाई घेरा हालेर आन्दोलनकारीको एक समुहले सशस्त्र प्रहरी असई थमन विकको हत्या आरोपमा फरार अभियुक्त तथा निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पीडित परिवारले माग गरेका छन् ।

पीडित परिवार काठमाडौँमा आएर सशस्त्र प्रहरीका दिवंगत असई थमन विककी पत्नी शोभा बिक र भाउजू कमला विकले माग गरेकी हुन् ।२०७२ भदौ २५ गते महोत्तरीबाट उपचारका लागि अस्पताल लैजाँदै गरेका असई थमन विकलाई सवार गाडीबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।

महोत्तरीको पिगौना गाउँ नजिकै आक्रमणकारीले उनको हत्या गरेका थिए । सो आन्दोलनको नेतृत्व महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ घर भएका लक्ष्मी महतोले गरेको प्रहरीको भनाइ छ ।

जसपा नेपाल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कोइरीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । यस मुद्दामा तारेख गुजार्दै प्रतिनिधिसभा सदस्य कोइरी अहिलेसम्म पनि फरार छन् ।

राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले फरार अभियुक्त कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ गते उच्च अदालत जनकपुुरले जारी गरेको ‘वारेन्ट’का कारण प्रतिनिधिसभा सदस्य कोइरी प्रहरीको ‘वान्टेड सुची’मा छन् ।

निलम्बित प्रतिनिधिसभा सदस्य कोइरी पक्राउ नपरेको भन्दै पीडित परिवारजनले उनलाई पक्राउ गर्न माग गरेका छन् । असइ थमनकी भाउजू कमलाले न्यायका लागि काठमाडौँ आएको बताइन् ।


सम्बन्धित समाचार