Logo

२८ मंसिर,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा आज तेस्रो दिन पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार नगरपालिककामा भएको कुटाकुटको घटनालाई मध्यनजर गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकहरुबीच पुनः विवाद हुन सक्ने आंकलन गर्दै मंगलबारदेखि महानगरपालिका व्यापक संख्यामा प्रहरी परिचलान गरिएको छ ।

महानगरपालिकामा मेयर र उपमेयर समर्थकबीच हुन सक्ने विवादलाई रोक्नका लागि सुरक्षा सतर्कता अपनाउँदै उच्च सुरक्षा व्यवस्था लागू गरिएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए ।

उनका अनुसार महानगरपालिकामा अहिले डिएसपीको नेतृत्वमा व्यापक संख्यामा प्रहरी खटाइएको छ । महानगरमा खटाइएको प्रहरी उच्च सुरक्षा सतर्कता अपनाउँदै प्रवेशमा कडाइ गरेको छ ।

प्रहरीका अनुसार कामबाहेकलाई नगरपालिका प्रवशेमा रोक लगाइएको छ । प्रहरीले महानगरपालिकामा अहिले कर्मचारी,जनप्रतिनिधि र सेवाग्राहीबाहेकलाई प्रवेश गर्न दिएको छैन ।

महानगरको दुबै गेटमा खटाइएको सुरक्षाकर्मीले कर्मचारीको प्रवेश पत्र,जनप्रतिनिधिको परिचयपत्र र सेवाग्राहीको कागजात जाँच गरेर मात्र प्रवेश गर्न दिइएको छ ।
प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएपछि महानगरमा अहिले अनावश्यक भीडभाड कम भएको स्रोत बताउँछ ।

तीन दिन अगाडि कोठाको विषयलाई भएको विवादमा मेयर र उपमेयर समर्थकबीच कुटाकुट भएको थियो ।यसरी नगरपालिका प्रमुखहरुबीच नै कुटाकुट भएपछि मंगलबारदेखि महानगर तनाव ग्रस्त बनेको छ ।


सम्बन्धित समाचार