Logo

२८ मंसिर,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन्।

बिहीवार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन्। उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबीसमेत गरे।

उनले खर्बौंको कारोबार हुने र खर्बौं मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए। उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको आरोप लगाए।

४ वर्षमा सरकारकै स्वामित्वमा आउने कम्पनीलाई कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको ओलीको आरोप छ। नागरिकहरुले सरकारको संलग्नता छ भने पनि सरकार बोल्न नसकेको उनले बताए।

‘हामीले चुनावमा भोट दिएर जिताइ पठाएका शासकहरु के गरिरहेका छन् अहिले। क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिन्छ। सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ। यसमा सरकारको संलग्नता नहुने कुरै भएन‚’ उनले भने‚ ‘खर्बौंको कारोबार, खर्बौं मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ।

देशलाई घाटा पारेर अब ३÷४ वर्षपछि एनसेल आफैँ सरकारको स्वामित्वमा आउने कम्पनीलाई सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गरेर कमीसनतन्त्रको जालोबाट देशलाई लुटतन्त्रमा लगेको छ। सरकार बोल्न सकिरहेको छैन।’

अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको दाबी पनि गरे। उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए।

 


सम्बन्धित समाचार