३० मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको परवानीपुर चोकमा राखिएको राँगाको मूर्ति आज भत्काइएको छ । एक महिना अगाडि बीरगञ्ज महानगरपालिकाले राँगाको मूर्ति बनाएको थियो ।
महानगरपालिकाले सौर्न्दयकरण कार्यक्रमअन्तर्गत परवानीपुर चोकमा राँगाको मूर्ति राखिएको बीरगञ्ज महानगरपालिका बताउँदै आइरहेको थियो । तर हनुमान मन्दिर नामले परिचित चोकमा राँगाको मूर्ति राखेर अपमान भएको भन्दै त्यसको चौतर्फी विरोध भइरहेको थियो ।
परवानीपुरमा राखिएको राँगाको मूर्ति राखेर सामाजिक सञ्जालमा केही दिनदेखि लगातार विरोध भइरहेको थियो ।
विरोधकर्ताहरुले बारम्बार वीरगन्ज महानरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई ध्यानाकर्षणसमेत गराउँदै आइरहेका थिए ।
समस्याको सुनुवाइ नभएपछि आज राँगाको मूर्ति केही व्यक्तिको समूहले भत्काइदिएको पर्सा प्रहरीले जनाएको छ ।
महानगरपालिका स्रोतका अनुसार राँगाको मूर्ति हटाउन मेयर सिंह तयार भएका थिए तर दुई सातासम्म नहटाएपछि स्थानीयबासी आफैंले मूर्ति भत्काएका हुन्।
यहीबीच परवानीपुर चोकमा रहेको मूर्ति भत्काएको आरोपमा पर्सा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहमा कृष्ण चौरसिया, पवन श्रीवास्तव,राजन महतो,सौरभ पटेल,राकेश उपाध्याय र सागर साह कानु रहेका छन् ।
पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा राखि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता कुमारबिक्रम थापाले जानकारी दिए ।