Logo

जनकपुर, पुस १ । साताव्यापी विवाहपञ्चमी अन्तर्गत आज सीतारामको विवाह हुँदैछ ।

जनकपुरधाममा धुमधामसित सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान श्री राम र आदर्श नारी सीतासँग भएको विवाहको स्मरणमा आज धुमधामसित सीतारामको विवाह भव्यता साथ मनाउने गरिन्छ ।
प्राचीनकालमा सीतारामको विवाह भए झैँ वर्तमानकालमा समेत रामजानकीको डोलालाई जनकपुरधामको रंगभुमि मैदानमा स्वयम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ ।

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकी (सीता)को डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेर स्वयम्वर हुन्छ । ढोल पिपही, सहनाई, बैण्ड बाजा र पञ्चेबाजागाजासहित निस्किने दुवै डोलालाई रंगभुमि मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गरिन्छ । डोलाको दर्शन र सीतारामको स्वयम्वर हेर्न रंगभुमि मैदानमा हजारौँ भक्तजनको संख्यामा दर्शन गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

यस महोत्सवमा सहभागी हुन भारत र नेपालका आन्तरिक भक्तजन तथा दर्शनार्थीले जनकपुरधाममा व्यापक भिड लागेको छ । सीतारामको विवाह हेर्न र दर्शन गर्नका लागि दर्शनार्थीहरु आउने क्रम अझैपनि जारी नै छ । विवाहपञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ भने प्रहरी हेल्पडेस्कसमेत स्थापना गरिएको छ ।

मंसिर २६ गतेदेखि सुरु भएको साताव्यापी विवाहपञ्चमी अन्तर्गत सोमबार जन्तीका रुपमा आएका साधुसन्तको बिदाइसँगै विधिवतरुपमा समापन हुनेछ । भने जन्तीलाई रामकलेवा ग्रहण अर्थात भोज खुवाएर विदाइ गरिनेछ ।


सम्बन्धित समाचार