Logo

फाइल तस्बिर

२ पुस,वीरगञ्ज । बारा कलैयाका रुपेश स्वर्णकार हत्याकाण्डको आज ठीक पच्चाँस दिन पुगेको छ । तर अहिलेसम्म हत्यामा संलग्न मुख्य अपराधीहरु भने पक्राउ पर्न सकेका छैनन् ।

अनुसन्धानको हद म्याद घर्किन लाग्दा पनि स्वर्णकार हत्याप्रकरणको मिसिल अधुरै छ । कलैयाको मदरसा टोलमा गएको कार्तिक १३ गते उनीमाथि भएको गोली प्रहारबाट मृत्यु भएको थियो ।

स्वर्णकारको मृत्यु भएपछि बारा प्रहरीले लगत्तै ५ जनालाई पक्राउ गर्‍यो । पक्राउ गरेका सबैमाथि सहयोगी भूमिका आरोप लगाउदै संगठित अपराधमा मुद्दा चलायो ।

प्रहरी स्रोतका अनुसार सबैमाथि संगठित अपराधको मुद्दा चलाउनु भित्री रहस्य भने बेग्लै थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्,‘हत्या जस्तो जघन्य प्रकृतिको अपराधमा संगठित अपराधको मुद्दा चलाइयो, किनभने त्यसको हद म्याद बढी हुन्छ ।फलस्वरुपः यो मुद्दा चलाएर वास्तविक दोषीलाई कानुनी कठघेरामा ल्याउनु थियो,त्यहीकारण हत्याको मुद्दा नचलाएर संगठित अपराध चल्यो ।’यो मुद्दामा अनुसन्धानको हद म्याद ६० दिनको रहन्छ, जुन समय घर्किदै गएको छ । तर त्यसको बाबजुद पनि बारा प्रहरीले मुख्य अपराधीलाई समाउन सकेको छैन, जसकारण प्रहरी दक्षतामाथि प्रश्न खडा भइरहेको छ ।

के के भयो अनुसन्धान ?

प्रहरी दक्षतामाथि मात्रै नभइ नेतृत्वमाथि पनि उत्तिकै प्रश्न तेर्सिएको छ, जुनकारण बारा प्रहरीबाट सर्वसाधारण विश्वास उठ्दै गएको गुनासाहरु बढिरहेका छन् ।

तर प्रहरीले भने आफू लगातार घटनामा लागिपरेको जनाएको छ । बारा प्रहरी स्रोतका अनुसार यो घटनाका मुख्य अपराधी भारतीय रहेको प्रष्ट भइसकेको छ ।

स्रोत भन्छ,‘त्यसकारण उनीहरुको पहिचान हुनुको साथै बस्ने ठाउँको समेत पत्ता लागिसकेको छ । तर कानुनी बाध्यताकारण हामीहरुले ती अपराधीहरुलाई पक्राउ गर्न सकेका छैनौं ।यतिमात्र कठिनाइ हो ।’

प्रहरीका अनुसार यसको बाबजुद अन्य सहयोगीहरुलाई पक्राउ गरेर केही सबुत प्रमाण फेला गरिएको छ, जुन मिसिलमा पठाइन्छ ।
बारा प्रहरीका क्राइम ब्रान्चका कमाण्डर सोभन राणाले यो घटनामा सबै तथ्य प्रमाणसहित मुख्य अपराधी सम्म प्रहरी पुगिसकेको बताए ।

तर भारतबाट सिधै अपराधीलाई ल्याउन नमिल्ने भएकाले हामीलाई पक्राउ गर्न कठिनाइ भएको हो,’ उनले भने । तर त्यसको बाबजुद पनि कसरी मुख्य अपराधीलाई कसरी ल्याउने बारेमा प्रहरी लागि परेको उनी बताउँछन् ।

कहाँकहाँ लुकेका छन मुख्य अपराधी ?

बारा प्रहरीले प्रविधिसहित विभिन्न पाटोबाट गरेको अनुसन्धानबाट मुख्य अपराधीको पहिचान तथा लोकेसन ट्रेस गरिसकेको जनायो ।
त्यसक्रममा स्वर्णकार हत्यामा संलग्न मुख्य अपराधीहरु भने आसपासमा नरहेको पाइएको बारा प्रहरी जनाउँछ ।

बारा प्रहरीका क्राइम ब्रान्चका राणाका अनुसार मुख्य अपराधीहरु मुम्बइ र कोलकत्तामा लुकेर बसिरहेका छन् ।
उनले भने,‘हामी त्यो पनि क्लियर गरिसकेका छौ, को कति के गर्छ प्रहरीले सबै वाच गरेर बसिरहेको छ ।

तर नेपाल र भारतबीचको सन्धीकारणले मात्रै हामीलाई कठिनाइ भइरहेको छ उठाउन । यही मुख्य समस्य हो ।’ उनका अनुसार मुम्बइ २ र कोलकत्तामा ३ जना लुकेर बसिरहेका छन् ।

अब के हुन्छ ?

स्वर्णकार हत्याकाण्डमा पक्राउ परेका ५ जनामाथि संगठित अपराधको मुद्दा चलेको छ । अन्यको खोजी कार्य भने जारी छ । फरार आरोपित पक्राउ नपरे पनि ६० औं दिनमा प्रहरीले अदालतमा मिसिल बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

अर्थात् यो मुद्दामा अनुसन्धानको हद म्याद ६० दिनको हुने भएकोले प्रहरीले यो समयसीमाभित्रै स्वर्णकार हत्याप्रकरणको मिसिल अदालतमा पेस गर्नुपर्छ ।

त्यसकारण बारा प्रहरी अहिले आफ्नो ध्यान मुख्य अपराधीलाई समाउनेतर्फ केन्द्रीत गरेको बताउँछ । तर यसको बाबजुद पनि यदि मुख्य अपराधीलाई पक्राउ गर्न सकिएन भने अर्को बाटो समाउने प्रहरीको तयारी रहेको बताइएको छ ।

बारा प्रहरीका अनुसार म्याद चलाइएका मुख्य अपराधीहरुलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिने तयारी छ ।
अदालतमा मुद्दाको फाइल बुझाएपछि इन्टरपोलबाट मुख्य अपराधीलाई समाउन प्रक्रियातर्फ लाग्ने बारा प्रहरीको तयारी रहेको क्राइम ब्रान्चका प्रहरी कमाण्डर राणाले जनाए ।

 


सम्बन्धित समाचार