Logo

बीरगञ्ज हरिखेतान क्याम्पस विवाद : मधेशकै ‘हाइ–प्रोफाइल’ क्याम्पसको अर्बौको सम्पति दाता परिवारबाटै निजीकरणको प्रयास, रोक्न खोज्दा यसरी निकालिए

३ पुस,वीरगञ्ज । बीरगञ्जको हरिखेतान बहुमुखी क्याम्पसमा आन्तरिक विवाद चर्किएको छ । क्याम्पस प्रमुख परिवर्तनको विषयलाई लिएर उत्पन्न विवादको आगो दन्किएको छ ।

सञ्चालक समितिले क्याम्पस प्रमुख डा. भगवान प्रसाद यादवलाई अनिवार्य अवकाश दिएर निमित्त क्याम्पस प्रमुखमा किशोरी रायलाई ल्याएपछि आन्तरिक विवाद छताछुल्ल भएको हो ।

सञ्चालक समितिले यही १ गते एक विज्ञप्ति जारी गर्दै निमित्त क्याम्पस रायलाई बनाएको जानकारी गरायो ।
त्यसको एक दिन पछाडि अर्को विज्ञप्ति डा.यादवले जारी गर्दै भने, ‘मसंग धोकाधरी भएको छ, अवैधानिक सञ्चालक समितिले नियतवश अनिवार्य अवकाशको फण्डा ल्याएको छ । जुन नियमसंग छैन, म मान्दा पनि मान्दिन ।’

क्याम्पस प्रमुख डा. यादवले क्याम्पस परिसरमै पत्रकार सम्मेलन गरेर यस्तो धारणा सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो ।

सञ्चालक समितिमै लफडा

बीरगञ्ज हरिखेतान क्याम्पस २०३८ सालदेखि सामुदायिक क्याम्पसको रुपमा सञ्चालित छ । त्यसपछि सरकारको नीति अनुसार हरिखेतान क्याम्पस आफ्नो विधान बनाएर सञ्चालक समितिमार्फत चल्दै आइरहेको छ ।

अर्थात् यो क्याम्पस २०४८ सालमा आफ्नो विधानलाई संशोधित गरी त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट पारित भइ त्यही विधानबमोजिम चल्न थाल्यो ।
यही विधानबमोजिम ०७५ सालमा चयन भएको समितिको संयोजकमा प्रेम प्रकाश खेतान चुनिएका थिए ।

उनको तीन वर्षे कार्यकालको म्याद सकिएपछि ०७९ सालमा भएको क्याम्पस सभाले जोखन दास थारुको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन ग¥यो ।
त्यसकारण अहिलेसम्म क्याम्पस सञ्चालक समितिको अध्यक्षमा थारु नै आधिकारिक रहेको हरिखेतानका प्रमुख डा. यादव बताउँछन् ।

क्याम्पस प्रमुख डा यादव भन्छन्, ‘यो समितिले मलाइ विधानसम्मत कारबाही गर्‍यो भने म स्वीकार छु , नत्रभने हुँदै नभएको सञ्चालक समितिका अध्यक्षले आफ्नो दुनो सोझ्याउनका लागि जबरजस्ती ‘स्टण्ट’ ग¥यो भने त्यो मान्य हुनेछैन ।’

के हो विवादको जड ?

हरिखेतान क्याम्पसका सञ्चालक खेतान परिवार भएपनि यो सामुदायि क्याम्पसको रुपमा सञ्चालित छ । ०४२ सालदेखि यही नीतिले चलिरहेको यो क्याम्पस मुनाफामा चल्दै गएपछि प्रेम प्रकाश खेतानले गोप्यरुपमा अर्को विधान बनाएर त्रिभुवन विश्वविद्यालयबाट पारित गराए, जसमा सञ्चालक समितिको अध्यक्षमा स्थायीरुपमा दातापरिवारकै व्यक्ति अध्यक्ष रहने गरी विधान बनाइयो ।

क्याम्पस प्रमुख डा.यादव भन्छन्,‘विवादको जड यही हो, यो विधानमा प्रकाश खेतानले सधै अध्यक्षमा आफू नै रहनका लागि बठ्याइँ गरे । जुन क्याम्पसको हकमा बेठीक हो, यही विरोध गर्दा उनीसहित केही गिरोह मिलेर म माथि प्रहार गरेका हुन् । तर यो दाउँपेच भने सफल हुन दिन्न ।’

उनका अनुसार अहिले त्रिभुवन विश्वविद्यालयमा अर्को संशोधित विधान मान्यता पाउने प्रक्रियामा छ, त्यो आउने बितिकै सबै लफडा ‘क्लियर’ हुन्छ । अवैधानिक क्याम्पस सञ्चालक समितिले कसैलाई अवकास दिने अधिकार नभएको उनको भनाइ छ ।

दाता खेतान परिवारले यसरी गरे निजीकरणको खेल

त्रिभुवन विश्वविद्यालको विधान अनुसार लामो समयदेखि कार्यरत डा. भगवान प्रसाद यादवको उमेर हदलाई टेकेर २०८०÷०९÷०१ गते बसेको सञ्चालक समितिको बैठकबाट अवकाश दिएको उल्लेख गरेको छ । यादवलाई अवकाश दिएको सञ्चालक समितिले त्यही क्याम्पसमा कार्यरत प्राध्यापक किशोरी रायलाई निमित्त क्याम्पस प्रमुख बनाएको छ ।

तर डा. भगवान यादवले भने यो भनाइलाई अस्वीकार गरेका छन् । उनी भन्छन्,‘ यो सब बहाना हो, मुख्य कुरा के हो भने मैले सामुदायिक क्याम्पसलाई निजीकरण हुनबाट बचाइरहेको छु, त्यसकारण उनीहरुले मलाइ हटाएर क्याम्पसलाई आफ्नो व्यक्तिगत बनाउँन खोजेका हुन् ।’

उनका अनुसार प्रकाश खेतानको यो निजीकरण वाला मुद्दा र अर्को बैंकमा पैसा राख्ने प्रस्ताव स्वीकार मात्रै गरे सबै समस्या अहिले नै समाधान हुनेछ ।
उनी भन्छन्,‘तर म हुँदासम्म यो हुन दिन्न, न क्याम्पसलाई निजीकरण हुन दिन्छु न त अन्य बैंकमा रहेको २ करोड रुपैयाँ नै लक्ष्मी बैंकमा जम्मा गर्छु ।

उनका अनुसार क्याम्पसको नाममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र सिद्धार्थमा गरी करिब २ करोड रुपैयाँ जम्मा छ ।
यो रुपैयाँ पनि प्रकाश खेतानले बारम्बार आफ्नो लक्ष्मी बैंकमा गर्न गरेको प्रस्ताव अस्वीकार गरेका थिए, जसका कारण उनी म विरुद्ध जाइलागेका हुन,’उनले भने ।

क्याम्पस प्रमुख यादवका अनुसार अहिले हरिखेतानको नाममा अर्को ८ कट्ठा जग्गा समेत किनिएको छ, यो बाहेक अन्य सम्पति पनि थुप्रै छन् । उनका अनुसार सबै जोड्ने हो भने हरिखेतानको नाममा अर्बौको सम्पत्ति पुग्न जान्छ । अहिले हरिखेतान बहुमुखी क्याम्पसमा करिब ३५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

उमेर हद बहाना मात्रै

हरिखेतानका दाता परिवारले उमेर हदको कुरा निकालेर आफ्नो दुनो सोझ्याउन खोजेको बताइएको छ । त्रिभुवन विश्वविद्यालयले ६३ वर्षमा अवकाश दिने प्रावधान रहेपनि सञ्चालक समितले बनाएको विधानमा उमेर हदको व्यवस्था नभएको क्याम्पस प्रमुख डा. यादव बताउँछन् ।

उनका अनुसार सञ्चालक समितिको विधानमा त्यो व्यवस्था नभएपछि त्ययसलाई नै टेकेर आफ्नो निर्णय थुपार्नुले पनि उद्देश्य प्रष्ट भइरहेको छ ।
उनी भन्छन्,‘मजस्तै बीरगञ्जमा अवकाश पाएका अरु पनि छन, नाम लिन चाहन्न ।

तर क्याम्पसले पुनः उनीहरुको म्याद थपेको छ । अनि उनीहरुको हकमा लागु नभएपछि मेरो हकमा कसरी हुन्छ ?’ त्यसकारण यो सब बहाना मात्रै रहेको उनको भनाइ छ ।
यता निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी पाएका किशोरी रायले आज पत्रकार सम्मेलन गर्दै डा. यादवले क्याम्पसबाट धेरै सेवा सुविधा लिएको सुनाएका थिए । उनले भने,‘सम्बन्धित निकायमा दर्ता भएको विधानअनुसारले सञ्चालक समितिको बैठकको निर्णयबाट जिम्मेवारी पाएको हुँ, गलत विधानको निर्णयले होइन ।’

निमित्त जिम्मेवारी पाएका राय भने अहिले पनि ठाकुराम बुहुमुखी क्याम्पस करारमा कार्यरत छन् । त्रिवि कर्मचारीको नियमावलीअनुसार राय पनि कार्यकारी जिम्मेवारीमा बस्न नपाउने हो ।


सम्बन्धित समाचार