४ पुस,वीरगञ्ज । काठमाण्डौ जाने क्रममा सिमरा एअरपोर्टमा विश्वकरण जैनसित लामो अन्तर्रालपछि भेट भयो । “हेर्दाहेर्दै हामीहरु बुढो भयौं हगि ?” हात मिलाउँदै मैंले कुरो झिके ।
“दाइ, तपाई बरु बुढो हुनु भयो होला, म त अझै जवान नै छु ।” उनले हिस्स हाँस्दै बाउन्स बैक गरी हाले । “लेट्स सी, बकरे की अम्मा कब तक खैर मनाती है । एनी वे, रहस्य त कमसे कम खोलाइदिनोस् ।” मेरो ईर्ष्यालु मनको कुरो फुत्त बाहिर आइहाल्यो ।
“मार्निङ्ग वाँक, प्रयाप्त एक्सरसाइज र सन्तुलित खानपानमा नो कम्प्रोमाइज । फाल्तुको सङ्गत टाटाबाईबाई । दैट्स अल !” उनको वचनमा आत्मसन्तुष्टी थियो ।
“भोलि मार्निङ्ग वाकमा नागार्जुन डाँडातिर जाँदै छु, नभए तपाई पनि सँगै हिड्नोस् ।” उनले प्रस्ताव राखे ।
“तर जुता र ड्रेस त मैंले मर्निङ्ग वाँकको हिसाबले ल्याएकै छैन ।” मेरो अल्छी मन उम्किन खोज्यो । “है दाइ, जे छ, त्यसैमा काम चलाउने नि ।” उनले यति भनेपछि मैंले थप नखरा देखाउन सकिन, ‘हुन्छ’ भनिहाले ।
आर्को विहानी शिवपुरी जङ्गलमा स्थित सैनिक क्याम्पको पहिलो प्रवेश ढोका (ढोचे)देखि विश्वकरण जैन र उनको ह्याण्डसम छोरो इशानसँगै मेरो मार्निङ्ग वाक सुरु भयो । बाटोभरि प्राकृतिक सौन्दर्यको रसपान गर्दै हामीहरु अगाडि बढ्दै गयौ, मध्य बाटोमा एक्सरसाइजको नाममा केही बेर जिउ तन्याकतुनुक्क पार्यौ ।
मोटामोटी नब्बे मिनेटको हिडाईपश्चात् हामीहरु डाँडा गाउँको ग्रिन वैली रिसोर्टमा थियौं । त्यहाँ जलविद्युतका जनक मानिएका ज्ञानेन्द्रलाल प्रधानसित जम्काभेट भयो । एकछिन हेलोहाँय भयो, लगतै उनका साथ गफसफ सुरु भयो ।
“अस्ति बीरगंजका आत्माराम काबराजीलाई भेट्न जाँदा तपाईको पैतृक गाँउ बन्दीपुर बारे कुरो चलेको थियो ।” मैैंले चर्चा झिक्न पाएको थिएन, उनीभित्र नोस्टेलजियाका रसायन सक्रिय भइहाले, “हो नि, कुनै बेला पश्चिम पहाडका खास गरी तनहु, कास्की, लमजुङ गोर्खा र मनाङको प्रमुख सप्लाई हव हुने गथ्र्यो । तिब्बतका ब्यापारीहरुसमेत चाँदीका सिक्का झोलामा बोकेर हाम्रो गद्दीमा मालसमान किन्न आउँथे ।
विजुली आइपुगेको थिएन, सर्वसाधारण त लालटिन र टुकीकै भरमा काम चलाउँथे । पेट्रोमेक्सको सुविधा धनिमानीहरुले मात्र पाएका थिए । राति परेपछि त्यही पेट्रोमेक्सको भरमा राती हिसाबकिताब मिलाउने, चाँदीका सिक्का गन्ने काम भ्याउथ्यौं।”
थप खोतल्दै मैले सोधे, “अनि बन्दीपुर र बीरगंजबीचको साइनोबारे केही याद छ कि ?” “बीरगंज त नेपालकै प्रमुख ब्यापारिक नाका थियो । बन्दीपुरका साहुहरुको लागि प्रमुख खरिददारी केन्द्र नै बीरगंज थियो । बीरगंजका केडिया, काबरा र चाचानजस्तै हाम्रो गणना पनि बन्दीपुरका जल्दाबल्दा साहुहरुमा हुन्थ्यो ।
बीरगंजका अन्य साहुहरुको तुलनामा हाम्रो सर्वाधिक बाक्लो सम्बन्ध केडियाहरुसित रहेको थियो ।” केही सम्झेजस्तो भङ्गिमा बनाउँदै उनले थपे, “अरु नाम त मलाई याद भएन, तर केडिया परिवारका विरजुबाबुको अनुहार झलझल्ती याद छ ।
उतिबेला तोरी आदिको खरिददारी गर्न उनी आफै पनि चितवन पुगिराख्थे । उनी आएको थाहा पाउने बित्तिक्कै चितवनको बजारमा अनाजको भाउ हव्वातै बढ्थ्यो । मेरा पिताजी पनि सिजनको बेलामा अनाजहरु किनेर चितवनका गोदाममा स्टक गर्नु हुन्थे ।
अनि अफ सिजनमा दाम बढेपछि मात्र बिक्री गर्नु हुन्थे ।”
“अनि उतिबेलाका बालसुलभ कर्तुतहरु केही याद छ कि ?” मैंले थप खोतल्न खोजे । “हजारौं छन्, भन्न थालियो भने पुरै दिन यता नै वित्ने छ । तैपनि एउटा सुनाउँछु है । आफु त लाललिन, टुकी र पेट्रोमेक्सको उज्यालोमा हुर्किएको मान्छे, चिमबारे सुनेको पनि थिइन ।
पहिलो पटक काठमाण्डौ पुग्दा जाँबो एउटा स्वीच थिच्ने वितिक्कै कोठा उज्यालो हुने तकनिक देखेर म त मन्त्रमुग्ध नै भएको थिए । मलाई त त्यो स्वीचसित कुन्नि कस्तो मोहनी लागेको थियो, पहिलो दिन त खानपीनको समेत होस रहेन । उतिबेलाको कालो धमरधुस स्वीच अनअफ गरेर नै पुरा दिन विताएको थिए ।” उनको भाव र भङ्गिमा, दुबै रसदार थिए । हामी खित्का छाडेर हाँस्न बाध्य भयौ ।
केही बेरसम्म अचेल उठिबास भइसकेका पुराना सामग्रीहरुबारे हाम्रो गफ चलिरह्यो । “अनि, पहिलो पटक बम्बई (अहिलेको मुम्बई) पुग्दाको घटना पनि सुनाउँछु है ।” उनले उत्साहित हुँदै थपे, “आफनो जीवनको पहिलो टिवी मैले उतै देखेको थिए ।
काठको बाक्साजस्तो टिबीमा उतिबेला स्वेतश्याम कार्यक्रमहरु मात्र आउँथे । उताका मान्छेले भने– त्यो काठको बाक्सभित्र मान्छेहरु कार्यक्रम सुरु हुनुभन्दा अगावै गएर बसेका हुन्छन्, कार्यक्रम सक्किएपछि मात्र बाहिर आउने गर्छन् ।
म पनि के कम, दिनभरि टिबीअगाडि आँखा गडाएर बसिरहे, कुनै बेला त टिबीभित्रका मान्छे बाहिर आउने होलान् । तर भनिएबमोजिम मान्छे कहिल्यै टिबीबाहिर आएनन् ।” हाँस्दाहाँस्दै हाम्रो पनि हालत खराब भयो । मैले पनि थपे, “अ, उतिबेला मैले सुनेको थिए, सिनेमाका हिरोहिरोइनहरु बम्बईमा बस्दा हुन् ।
अनि बीरगंजस्थित सिनेमाघरको पर्दासम्म हिरोहिरोइनहरु सुरुङ्ग बाटोबाट आउँने जाने गर्छन् । अनि मेरो बालसुलभ मनलाई अचम्भ लाग्थ्यो – मान्छे त ठीकै छन्, आउँदा होलान् । गाडी र ठूल्ठूला घरहरु त्यति परबाट कसरी ल्याउँदा होलान् ?” एक पटक पूनः हाँसोको फुहरा छुट्यो । केही बेरसम्म हाम्रो बाल्यकालिन जमाना उटपट्याङ्ग घटनाहरुबारे गफ भइरह्यो ।
“अनि तपाई आफ्नो बाल्यकालमा बीरगंज घुम्ने मौका पाउनु भएको थियो कि नाई ?” मैले कौतुहल प्रकट गर्दा उनको आँखामा अनौठो चमक उत्पन्न भयो, “अ, सम्झना भएसम्म म कक्षा आठमा पढ्थे । एक दिन आँप खाने बाक्लै इच्छा भयो ।
बीरगंजमा आँप जति पनि पाइँदो रहेछ भनेर थाहा भयो । अनि बीरगंज पुग्ने हुटहुटी चलिहाल्यो । बन्दीपुरबाट नारायणगढको लागि पैदल नै हिडे । नारायणगढबाट आफ्नै ट्रकमा बीरगंज आइपुगेको थिए बीरगंजको चिल्लो सडक, झिलिमिली र बडेबडे घरहरु देखेर म त दङ्ग नै परेको थिए ।”
“त्यसो भए तपाईलाई बीरगंजको किर्ती टाँकिज पनि याद होला । सिनेमा हलअगाडिको एक खाजा घर याद होला । गहवा माई मन्दीर पनि याद होला । बीरगंजको रेल पनि याद होला ।” मैले थप कोट्याउन चाहे । “हो ! हो ! याद आयो ।
नाम चाँहि याद भएन, तर त्यो हलमा हिन्दी सिनेमा पनि हेरेको थिए । त्यहाँको पुरी तरकारी र जेरी याद छ । त्यति मात्र होइन, टाङ्गा (घोडागाडी) चढेर रक्सौल पुगेको पनि याद छ । त्यहाँ पुगेर केही खरिददारी गरेको र फरक फरक स्वादवाला मासु खाएको याद छ । रात परेपछि केडियाको गद्दीमा सुतेको याद छ ।” निकै बेरसम्म यावत पुराना कुराहरुबारे गफ भइरह्यो ।
हम्रो फर्किने बेला भएको थियो । गफगाफलाई त्यही विराम दिँदै फिर्ती बाटोमा लाग्यौ । बाटोभरि मनमा कुराहरु खेलिरहे । जीवन भनेको यादहरुको सङ्गालो त हो । अचेल पहाडकी रानीको नामले चिनिएको बन्दीपुरले एकताका भुत गाँउको उपमा पाएको थियो ।
वि.स. २०२५ सालताका तनहुको सदरमुकाम दमौली सरेपछि बन्दीपुरको चहलपहल न्युन भएको थियो । पहाडी गन्तब्यहरुसम्म राजमार्ग पुगेपछि बन्दीपुरको ब्यापारीक गतिविधी पनि सुन्यप्रायः नै भएको थियो । बन्दीपुरका प्रायः रैथानेहरु काठमाण्डौ र भक्तपुर सरेका थिए । धन्न बन्दीपुरका रैथानेहरुको मनमा आफ्नो पुर्ख्यौली गाँउलाई पर्यटकीय गन्तब्यको रुप दिने जाँगर चल्यो ।
त्यहाँको सांस्कृतिक पहिचानको जगेर्ना त गरे नै, साथमा पर्यटकीयक आर्कषणको केन्द्र पनि बनाए । भत्किन आँटेका परम्परागत शैलीमा बनेका जिर्ण घरहरुको जिर्णोद्धार गरे, तिनै घरलाई होमस्टे र होटलमा रुपान्तरित गरे ।
त्यहाँ उपलब्ध हुने परम्परागत तथा अग्र्यानिक खानेकुराहरुलाई समेत पर्यटकहरुलाई बन्दीपुरसम्म तान्ने माध्यम बनाए । बन्दीपुरबाट मज्जाले दृश्यावलोक गर्न मिल्ने हिमश्रृङ्खला, हरिया पहाड, पहरा, कलकल बग्दै गरेका नदीहरुलाई पर्यटकीय आकर्षणको रुपमा दिलोज्यान प्रचारप्रसार गरे । अचेल आन्तरिक मात्र होइन विदेशीहरु पनि हजारौंको सङ्ख्यामा बन्दीपुर पुग्ने गरेका छन् ।”
लगतै मेरा आँखाअगाडि बीरगंजको अनुहार प्रकट भयो । मनमनै सोच्न बाध्य भए, “कुनै बेला बीरगंजलाई पनि नेपालको एक मात्र प्रवेश द्वार भनिन्थ्यो । बीरगंजलाई अधिराज्यभरि मालसमान आपूर्ति गर्ने केन्द्रको रुपमा चिनिन्थ्यो ।
बीरगंजको आतेथ्यता, बीरगंजको रेल, बीरगंजको सिनेमा घर र परम्परागत खानपीन, बीरगंजका मठमन्दीर, बीरगंजका पसलहरु, बीरगंजका टाङ्गा, बीरगंजको फुटबल प्रतियोगिता, बीरगंजका सांस्कृतिक एवं साहित्यीक कार्यक्रमहरु नेपालभरि नै प्रख्यात थिए ।
समुन्द्रपारीका विदेशीहरु पनि बीरगंज भएर नै नेपाल पस्थे । आज कुन अवस्थामा छ, बीरगंज ? के उपनामले चिनिन्छ ?” यावत कुरा सोच्दासोच्दै पराजयभावले घनिभूत टाउको निहुरियो ।
गाडी रोकिएको ठाँउसम्म हामी पुगिसकेका थियौ । गाडीमा बस्यौ र हिड्यौ आर्को गन्तब्यको लागि । बाटो भरी मेरो उदास मन बीरगंजका रैथाने मधु क्षेत्रीले कुनै बेला गाएको गीत, “ तिम्रो सिउँदो सजाई दिने मेरो एउटो धोको, तिमीप्रति चाहना जुन मेरो, सदैव चोखो…….” गुनगुनाई रह्यो ।