Logo

५ पुस,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर जमुनिया खोलाको नदिजन्य पदार्थ उत्खननको ठेक्का लगाएको छ । राज्यपुर्नसंरचना अघि मधुवन मथवल गाविसको क्षेत्रमा पर्ने जमुनिया खोला सीमांकन गर्दा सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर १ मा परेको छ ।

तर, पटेर्वा सुगौलीले भने क्षेत्राधिकार मिचेर अनाधिकृत रुपमा खोलाको ठेक्का लगाएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताउनुभयो । सखुवा प्रसौनी गाउँपालिकाले आज नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर तत्कालिन मधुवन मथवल गाविस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएकोले उक्त क्षेत्रको सम्पूर्ण प्राकृतिक श्रोत साधनहरु स्वतः सखुवा प्रसौनी गाउँपालिकामा पर्ने देखिएपनि पटेर्वा सुगौलीले अनाधिकृत रुपमा ठेक्का लगाएकोमा आपत्ति जनाएको हो ।

यसअघि २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालमा पनि जमुनिया खोलाको विषयमा विवाद भएपछि सीमा निर्धारण नभएसम्म सखुवा प्रसौनी गाउँपालिकाले ६५ प्रतिशत र पटेर्वा सुगौलीले ३५ प्रतिशत प्राकृतिक श्रोत साधनको राजस्व बाँडफाँड गर्ने सहमित भएपछि विवाद समाधान भएको थियो ।

विगतको ६५ प्रतिशत राजस्वबाट हुन आउने ४४ लाख ६५ हजार रुपैंया रकम पनि अहिलेसम्म पटेर्वा सुगौली गाउँपालिकाले दिएको छैन । तर, अहिले सीमा निर्धारण नै नगरी सखुवा प्रसौनीसँग पनि कुनै सहमति र छलफल नै नगरी आफूखुशी खोला उत्खनन्को ठेक्का लगाएको हो । प्राकृतिक श्रोत परिचालनमा देखिएको विवाद अदालतसम्म पुगेको छ ।

अदालतले पनि सीमा निर्धारण गर्न नसक्ने बताउदै कानून अनुसार गर्नु भनेर आदेश गरेपछि आफूहरु अन्यायमा परेको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वासुदेव महतो थारुले बताउनुभयो । आफूहरुले कुनैपनि हालतमा जमुनिया खोलाको स्रोत लान नदिने र पटेर्वा सुगौली गाउँपालिकाले जबरजस्ती गर्न खोजे जेसुकै पनि हुनसक्ने चेतावनी दिनुभयो ।

उहाँले त्यसबाट उत्पन्न परिणामको दोषी पटेर्वासुगौली र ठेकेदार हुने महतोले बताउनुभयो । पटेर्वासुगौलीले लगाएको ठेक्का वीरगन्ज–१२ को सीताराम कन्सट्रक्सनले मूल्य अभिवृद्धि कर बाहेक ६० लाखमा सकारेको छ ।

पत्रकार सम्मेलनमा पूर्वपालिका अध्यक्ष प्रदीप जयसवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर रौनियार, नेपाली कांग्रेसबाट वडा नम्बर १ का प्रत्यासी गिरीराज कडेल लगायतको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार