![मर्यादाक्रमको विवाद छताछुल्ल :मञ्चमा देउवा,भुइँमा निधि](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/bimlendra-deuwa-bb.jpg?fit=1200%2C688&ssl=1)
५ पुस,वीरगञ्ज । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा पूर्वउपसभापति विमलेन्द्र निधिलाई अपमान गरिएको छ ।
जनकपुरमा सुरु मधेश प्रदेशको प्रथम सम्मेलनमा पूर्वउपसभापति निधिलाई आसनग्रहण नगराएर उनलाई अपमान गरिएको हो ।
मधेश प्रदेशको जनकपुरमा सुरु कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको उद्घाटन शत्रमा देउवा समूहले मनोपरी ढंगले आसनग्रहण गराउदै उनलाई बेवास्ता गरेको बताइएको छ ।
प्रथम सम्मलेनको आसनग्रहणमा देउवा समूहले सुरुवातीरुपमा पार्टी सभापतिसहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य एवम मन्त्री रमेश रिजाल, प्रदेश सभापति कृष्णा यादवसहितका नेतालाई आसनग्रहण गराएको थियो ।
तर सभापति देउवाकै अगाडि नै बसेका पूर्वउपसभापति निधिलाई भने बेवास्ता गर्दै आसनग्रहणमा छुटाइएको थियो ।
आसनग्रहणमा नै पूर्वउपसभापति निधिलाई बेवास्ता गरेपछि उनी कार्यकर्ता पंक्तिमा गएर बसेका छन् । उनी कार्यकर्ता पंक्तिमा बसेको भिडिओ विभिन्न सामाजिक सञ्जालले गरिरहेको प्रत्यक्ष प्रसारणमा सजिलै आइरहेको छ ।
बोलाउदा पनि किन मञ्चमा गएनन् निधि ?
सम्मेलनमा आसनग्रहणको कार्यक्रम सकेपछि स्वागत मन्तव्य र स्वागत गान बजाइएको थियो । यही स्वागत गान सुरु हुनुको केही सेकेण्ड पहिला रोस्टमा उनलाई आसग्रहणको लागि बोलाइयो ।
रोष्टमबाट तीन पटक आग्रह गर्दै भनियो–कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिज्यूलाई मञ्चमा आएर आसनग्रहण गरिदिनुहुन अनुरोध छ, यो भनेर उनी नआएपछि प्लीज,प्लीज भनेर सम्बोधन पनि गरियो । तरपनि पूर्वउसभापति देउवा भने मञ्चमा आसनग्रहण गर्न गएनन् ।
कार्यक्रममा सहभागी एकजना नेताका अनुसार पूर्वसभापति निधि मञ्चमा नजानुको पछाडिको मुख्य कारण उनलाई उनकै जिल्लामा गरिएको मानमर्दन हो ।
अर्थात् सुरुमै आसनग्रहण गराउँदा उनलाई जानीजानी छोडेर आसनग्रहण गराउनु भनेको उनको इज्जत नगर्नु हो । त्यसकारण उनी मञ्चमा नगएको उनी निकट एक नेता बताउँछन् ।
उनका अनुसार यो राजनीतिक रुपमा ठूलो अर्थ लाग्छ । त्यो भनेको पार्टी सभापति देउवा र निधिबीच सम्बन्ध नरहेको झल्काउनु हो, निधिको हैसियत केही छैन भने प्रमाणित गर्नु हो ।
यो एउटा आसनग्रहणले कार्यकर्तामाझ निधिको राजनीतिक हैसियत प्रष्ट भएको म्यासेज गएको राजनीतिक विश्लेषकहरुको पनि धारणा छ ।
मर्यादाक्रममा उनलाई अन्य नेता भन्दा पछाडि राखेर आसनग्रहण गराउन खोजेपछि पूर्वउपसभापति निधि मञ्चमा नगएको उनी निकट नेताको भनाइ छ ।
कुनैबेला पार्टी सभापति देउवाको खास विश्वासिलो नेता थिए निधि । तर चौधौ महाधिवेशनमा उनी देउवासंगै पार्टी सभापतिमा चुनाव लडेपछि दुबै जनाबीच दूरी बढ्दै गएको जानकार बताउँछन् ।
यद्यपी, अन्तिम चरणको मतदानमा निधिले भने देउवा समूहलाई समर्थन गरेका थिए ।
प्रथम सम्मेलनमा भाग लिन ८ वटै जिल्लाबाट कांग्रेस प्रतिनिधिहरु जनकपुर पुगिसकेका छन् । जनकपुरमा जारी सम्मेलनमा ८२५ जना प्रतिनिधि सहभागीता हुने बताइएको छ ।
आजको कार्यक्रममा काँग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले बन्द शत्रमा आफ्नो प्रतिवेदन पेश गर्नेछन् ।
उनले पेश गर्ने राजनीतिक, साङठनिक तथा आर्थिक प्रतिवेदन संशोधनसहित प्रदेश समिति बैठकबाट पारीत भइसकेको समेत जनाइएको छ ।