Logo

६ पुस,काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि चार खेल हुँदै छन्। बिहान साढे ९ बजे त्रिवि मैदानमा सुरु हुने खेलमा बागमतीले कोशी प्रदेशको सामना गर्नेछ। त्यसैगरी, सोही समयमा मूलपानी मैदानमा कर्णालीले गण्डकीको सामना गर्ने तालिका छ।

हिजो सुरु भएको प्रतियोगितामा कोशी, बागमती, लुम्बिनी र एपीएफले जित दर्ता गरेका थिए। हिजो जित दर्ता गरेको बागमती आज कोशीलाई हराउने लक्ष्यमा हुनेछ। हिजो पराजित भएका कर्णाली र गण्डकीलाई आज जित दर्ता गर्ने अवसर हुनेछ।आजै दिउँसो सवा १ बजे त्रिवि मैदानमा मधेश प्रदेशले एपीएफको सामना गर्नेछ।

एपीएफले हिजो सुदूरपश्चिमलाई हराएको थियो। उपाधि दाबेदारसमेत रहेको सिता राना मगरको टोली आज पनि जित दर्ता गर्ने लक्ष्यमा छ। आज मधेश पनि पहिलो खेल जित्ने दाउमा हुनेछ। दिउँसो साढे १ बजे नै हुने अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिमको सामना गर्नेछ। यो खेल मूलपानी मैदानमा हुनेछ।

नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक महिला क्रिकेटको प्रतियोगिता सिंगल राउन्ड रोविन शैलीमा सञ्चालन गरिरहेको छ। प्रतियोगिताको फाइनल खेल पुस १८ गते हुनेछ।


सम्बन्धित समाचार