Logo

फाइल तस्बिर

६ पुस,वीरगञ्ज । बीरगञ्ज महनगरपालिकाको बिर्तास्थित बाल सुधार गृहमा पुनः विवाद भएको छ । ४ जना बाल बन्दीहरुको स्थानान्तरणको विषयलाई पुनः विवाद भएको हो ।

दुइ दिन अगाडि मन्त्रालयबाट आएको पत्र अनुसार सरुवा गर्न खोज्दा बाल बन्दीहरु विरोधमा उत्रिदै बाल सुधार गृहमा तोडफोड समेत गरेका छन् ।
४ जना बाल बन्दीहरुलाई स्थानान्तरण गर्ने विषयमा विवाद हुँदा गएराती बाल सुधार गृह पुनः तनावपूर्ण बनेको थियो ।

विवाद उत्पन्न हुँदा बाल बन्दीहरुले सुधार गृहमा पुनः निर्माण गरिएका संरचनाहरु समेत तोडफोड गरेका छन् ।
बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफ्लेका अनुसार उनीहरुले पर्खाल, एसी, गिजरसहित पुनः निर्माण गरिएका सम्पूर्ण संरचनाहरु भत्काइदिएका छन् ।

उनका अनुसार मन्त्रालयबाट आएको सरुवा सूची अनुसार ४ जनालाई स्थानान्तरणका लिन जाँदा विवाद सुरु भएको हो ।
मन्त्रालयले यही ३ गते बाल सुधार गृहबाट पृथ्बी पटेल, विजय यादव, नन्दन यादव र अशोक झालाई अन्यत्र सरुवा गर्न पत्र पठाएको छ ।

त्यही पत्रबमोजिम चारैजनालाई हेटौडा र काठमाण्डौं सरुवा गर्न थालिएको थियो । तर त्यही थाहा पाएपछि उसका समर्थकहरुले पुनः विवाद गरेको पाइएको पर्सा प्रहरीले जनाएको छ ।

बाल सुधार गृहमा अवस्था पुनः तनावग्रस्त बनेपछि व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गएरातीदेखि बाल सुधार गृहमा प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख कोमल शाहले बताए । उनका अनुसार अवस्था तनावग्रस्त बनेपछि रातभरि नै प्रहरी खटाइएको थियो ।

तर अहिले भने बाल सुधार गृहको अवस्थामा सामान्य बनेको पाइएको पर्सा प्रहरीले जनायो । बीरगञ्ज बाल सुधार गृहमा ११३ जना बाल बन्दीहरु छन् ।
यसअघि पनि भदौंको अन्तिम साता बाल सुधार गृह तनावग्रस्त भएको थियो । बाहिरबाट ल्याइएका नयाँ बाल बन्दीहरुको विषयलाई लिएर बाल बन्दीहरु दुई गुटमा विभाजित भएका थिए ।

 


सम्बन्धित समाचार