Logo

फाइल तस्बिर

७ पुस,वीरगञ्ज । पर्सा जिल्लामा यसवर्ष धान उत्पादनमा कमि आएको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा कमि आएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा यसवर्ष कुल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव ०७९/८० मा ९५ प्रतिशत अर्थात् ४५ हजार चार सय ३० हेक्टरमा धान रोपाइँ भएको छ । केन्द्रका प्रमुख मुनिलाल कुशवाहाले प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनका दरले एक लाख ८६ हजार दुई सय ६३ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आव ०७८÷७९ मा ४५ हजार चार सय ६० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा प्रतिहेक्टर चार दशमलव चार मेट्रिक टनका दरले दुई लाख २४ मेट्रिक टन धान उत्पादन भएको थियो । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टरमा धान रोपाइँ हुने गरेको कुशवाहाले बताउनुभयो ।

जिल्लामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको प्रमुख कुशवाहाको भनाइ छ । धान रोपाइँ समयमा नहुनु, वर्षा नहुनु, सिँचाइ तथा मल अभाव, रोगको सङ्क्रमणलगायत कारणले उत्पादन घटेको उहाँको कथन छ ।

 

 


सम्बन्धित समाचार