Logo

९ पुस,वीरगञ्ज । बीरगञ्जको नेशनल ट्रेडिङस्थित मधेस विश्वविद्यालयमा आफ्नै गाडीले ठोकिएर मुख्य प्रवेशद्वार नजिकैको पर्खाल भत्किएको छ ।
गएराती करिब ८ बजेको समयमा विश्वविद्यालयकै स्कारपियो गाडीले ठोक्किदा गेटसंगैको पर्खाल भत्किएको हो ।

विश्वविद्यालय प्रवेश गर्ने मुख्य गेटको पश्चिमतर्फको पर्खाल मधेस प्रदेश ०२–००१ झ ००२३ नम्बरको स्कारपियोको ठक्करबाट भत्किएको विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले जनाए ।

झगरु यादव भनिने प्रकाश यादवलाई गाडी चलाउदा दुर्घटना भएको विश्विद्यालयले जनाएको छ । राती अवेर भएको दुर्घटनापछि झगरु यादव भने रातीदेखि नै फरार रहेको विश्वविद्यालयका रजिस्ट्रार यादवले बताए ।

स्रोतका अनुसार पर्खाल भत्काउने स्कारपियो गाडी रजिस्ट्रार विजय यादवले चढ्ने गरेका छन् । उनै यादवले रेसखबरसंग कुरा गर्दै घटनाबारे यस्तो भने,‘विश्वविद्यालयको गाडी हो, त्यसकारण हामी काम सकेपछि त्यही राख्ने गरेका छौं । हिजो पनि त्यही राख्या हो, झगरु भन्नेले चलाउदा गाडी अनियन्त्रित भई पश्चिमतर्फको पर्खालमा ठोक्किएर पर्खाल भत्किएको हो ।’

विश्वविद्यालयको पर्खाल भत्काउने गाडी अहिले पर्सा प्रहरीको नियन्त्रणमा छ । दुर्घटना भएपछि प्रहरीले उक्त गाडी आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
विश्वविद्यालयको गाडी दुर्घटना काण्ड रहस्मयी बन्दै छ । गएराती भएको दुर्घटना सिक्ने क्रममा भएको भन्दै घटनालाई विश्वविद्यालयबाट ढाकछोप गर्ने प्रयास भइरहेको देखिन्छ ।

यी २ तथ्य जसले दुर्घटना बन्दै शंकास्पद

अझ यसलाई सरल भाषामा बुझौं । विश्वविद्यालयमा गएराती भएको दुर्घटनामा २ वटा तथ्य फेला परेको छ, जसले घटनालाई ढाकछोप गर्न प्रयास भइरहेको सजिलै पुष्टि गर्दछ ।

पहिलो तथ्य हो, गाडीको ढोकामा बान्ता गरिएको फोहोर । गाडीको दृश्य हेर्दा एउटा ढोकामा बान्ता गरिएको फोहोर पदार्थ अहिले पनि त्यस्तै छ, त्यो बान्ता भनेको रातीको मात्रै हो ।

एक चालक भन्छन्,‘जुन कि त दारु खाएर कसैले गरेको हुनुपर्छ, कि त गाडीमा यात्रा गर्दा बान्ता गर्ने गर्दछन् ।’ हो, यही विषय शंकास्पद छ । त्यो कसरी हो भने यो बारेमा प्रतिक्रिया लिँदा रजिस्ट्रार यादवले हिजो गाडी पार्किङ गरेको अवस्थामा गार्डले चलाउँदा दुर्घटना भएको बताए । यदि यो सत्य हो भने कसरी गाडीको ढोकामा बान्ता गरेको

आयो ? यो प्रश्न गम्भीर छ ।

यदि होइन भने के विश्वविद्यालयमा दारु पाटी चलिरहेको थियो ? अनि यही पार्टी सकेपछि गाडी लिएर निस्किदा दुर्घटनामा पर्र्न गएको हो अथवा अरु नै कुनै कारणले हो ? यस्ता प्रश्नले विश्वविद्यालयलाई घेरिएको छ ।

यसको अलावा गाडीको अगाडि भाग पूरै कच्याककुचुक बनेको छ । एक चालक भन्छन्,‘गाडीको अगाडि भाग यसरी कच्याककुचुक बन्नु भनेको सिक्नेले चलाएर होइन, जान्नेले चलाएर हो । ठूलो दुर्घटना हुँदा यस्तो अवस्थामा गाडी पुग्छ ।’

त्यसकारण यो गाडी सिक्नेले भन्दा पनि जान्नेले चलाएर दुर्घटना भएको उनी बताउँछन् ।तैपनि पर्सा प्रहरी भने मौन झै बसेको छ ।

सरकारी सम्पतिको दुरुपयोग भएर दुर्घटना हुँदा अहिलेसम्म ठोस जानकारी पर्सा प्रहरी नभएको प्रतिक्रिया छ ।
यो घटनाको बारेमा प्रतिक्रिया लिदा डिएसपी धु्रवबहादुर श्रेष्ठले घटनाको अनुसन्धान भइरहेकोले विशेष जानकारी नआएको जनाए ।


सम्बन्धित समाचार