Logo

११ पुस,जनकपुर । मधेश प्रदेशमा अपराधजन्य घटनाहरुमा वृद्धि हुनुको मुख्य कारण लागूऔषध सेवन रहेको देखिएको छ ।

मधेश प्रदेशको ८ वटै जिल्ला अवस्थित सिमानाकाबाट लागूऔषधसहितको विभिन्न ओसारपोसार तथा सेवनबाट विभिन्न खाले अपराधिक घटना हुने गरेको एक तथ्यांकबाट समेत पुष्टि गरेको छ ।

धनुषाको सबैला नगरपालिका–९ स्थित कुसमहा सतोखरकी ६ वर्षीया राखी यादव मंसिर ७ गते छिमेकीको मटकोर हेर्न सतोखरमा रहेको पोखरी पुगेकी थिइन् । मटकोर सकिएर सबै घर फर्किएपनि राखी घर आइपुगिनन् ।

अर्कोदिन प्रहरीले खोजतलास गर्दा खाल्डोमा जमेको पानी दमकलले सुकाएपछि राखीको शव भेटियो ।
बालकाको हत्याको आरोपमा धनुषा प्रहरीले दुई किशोरलाई समातेर सोधपुछ गर्दा ती दुवै अभियुक्तले अभियोग पनि स्वीकार गरेको जनायो ।
धनुषा प्रहरीका अनुसार दुबै अभियुक्तले लागूऔषध सेवनकर्ता हुन् ।

त्यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा ११ वर्षीय आदित्य ठाकुरको लागूऔषध सेवनकर्ताबाट हत्या भयो । मामाघर बस्दै आएका बालक आदित्य ठाकुर ३० मंसिरमा राति अबेरसम्म घर नफर्केपछि परिवारजनले प्रहरीमा उजुरी दियो ।

प्रहरीले खोजतसाल गर्दा घरभन्दा पर आदित्य रक्ताम्य अवस्थामा फेला पर्यो ।
सो घटनामा संलग्न रहेको आशंकामा स्थानीय २६ वर्षीय सञ्जय साह र २४ वर्षीय बादललाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आवेले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका क्रममा बालक आदित्य मधेश प्रदेशसभा भवन छेउमा मोबाइल चलाइरहेका बेला दुबै पुगेका थिए । लागू औषध सेवन गरेका उनीहरुले मोबाइल देखेपछि बाँसको भाटाले आदित्यको टाउकोमा हिर्काएको थियो ।

प्रहरी अधिकृतहरुले जनाए अनुसार हत्याका घटनाभन्दा धेरै चोरी, डाँका, महिला तथा घरेलु हिंसालगायतका अपराधमा समेत लागूऔषध सेवनकर्ताको संलग्नता देखिएको छ ।

 

लागूऔषधको नशामा बालकको हत्या गरेको प्रहरीको भनाई छ । धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले दुबै घटनामा आरोपी लागूऔषध सेवनकर्ता नै रहेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा धनुषामा ७ जनाको हत्या भएको छ, जसमध्ये तीनवटा घटनामा लागूऔषध सेवनकर्ता संलग्न छन् ।

मधेश प्रदेशको ८ वटै जिल्लामा ५७ जनाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय, जनकपुरको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा ९६ जना र २०७९/०८० मा १०६ जनाको हत्या भएको जनाएको छ ।

अधिकांश अपराधमा लागूऔषध जोडिने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए ।
हत्या, बलात्कारजस्ता जघन्य अपराधको मुद्दा लागूऔषध नै सेवन गरिएको जस्तो देखिएपनि त्यसको प्रमाण भने भेटाउन समस्या रहेकाले सो कुरा तथ्यांकमा भने नखुलाएको उनले बताए ।

त्यस्तै हत्याका घटनाभन्दा पनि चोरी, डाँका, महिला तथा घरेलु हिंसा जस्ता अपराधमा समेत लागूऔषध सेवनकर्ताको संलग्नता रहने गरेको देखिएको छ ।
त्यस्तै सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले प्रायः लागूऔषध सेवनकर्ता ३० वर्ष उमेरमुनिका हुने गरेको देखिएको बताए ।

मधेश प्रदेश प्रहरीले जनाए अनुसार मधेश प्रदेशमा दिनहुँ करिब ३ जना लागूऔषधसहित पक्राउ पर्ने गरेका तथ्यांकबाट देखिन्छ ।
प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकबाट आर्थिक वर्ष ०७७/०७८ मा लागूऔषधसहित ९९९ जना व्यक्ति पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष ०७८÷०७९ मा यो संख्या बढेर १ हजार २८५ रहेको छ । यो क्रम बढ्ने क्रम जारी नै छ ।

त्यस्तै आर्थिक वर्ष ०७९/०८० मा भने बढेर १ हजार ३०४ व्यक्ति लागूऔषधसहित पक्राउ परेको तथ्यांकमा छ ।
चालु आर्थिक वर्षको पाँच महिनामै ४३७ जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले बताए ।

लागूऔषध सेवनकर्ताहरुले प्रायः गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनलगायतका सेवन गर्ने गरेको देखिएको छ भने उनीहरुबाट यी लागूऔषध बरामद भएको छ ।
यस पाँच महिनामै प्रहरीले आठवटै जिल्लाबाट २ हजार ६८३ किलो गाँजा, ४७ किलो चरेस, ८६ ग्राम र ३२७७ मिलीग्राम हिरोइन, १७ हजार २३९ ट्याबलेट, १ हजार ५३१ बोतल र १४ हजार ४०५ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा छ ।

सर्लाहीको मलंगवा नगरपालिका–८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका–५ का २२ वर्षीय इजरुल महम्मद शेष पुस १ गते दिउँसो मृत फेला परेको थियो । शरीरमा घाउखत थिएन, तर मुखबाट फिज आएको थियो । उनको अत्यधिक लागऔषध सेवनकै कारण मृत्यु भयो ।

लागू औषधको कुलतमा फसेकाहरुको उपचार र पुजर्स्थापनामा काम गर्दै आएको पुनर्जीवन नेपालका संस्थाका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेले प्रायः युवाहरु साथीसंगतका कारण लहैलहैमा लागेर कुलतमा फस्ने गरेको बताए ।

उनले करिब ३ प्रतिशतलाई कुलतमा फस्नेबित्तिकै घरपरिवारले पुनर्स्थापना केन्द्रमा राखिने गरिएको छ भने ९७ प्रतिशले अपराधमा फसेपछि मात्रै सुधारगृहमा ल्याइन्छ । कुलतमा फसेकालाई सामान्य अवस्थामा ल्याउनका लागि न्यून्तम एक वर्षसम्मपनि लाग्ने गरेको छ ।

यता प्रहरीले पनि विभिन्न अभियान अन्तर्गत अपराध नियन्त्रणका लागि विद्यालयदेखि नगर, शहरदेखि गाउँ समाजसम्ममा शान्ति सुरक्षा र युवापुस्तालाई सुधारका लागि लागूऔषध न्यूनिकरणलाई टार्गेट गरी अभियानसमेत चलाईरहेको छ ।

युवापुस्तामा घरायसी समस्या, साथीसंगत, बेरोजगारी, कामविहीनताको अवस्था, एकलपना, चिन्ताजन्यलगायतका कारणले पनि किशोरावस्थादेखि करिब ३० वर्ष उमेरसम्मकालाई घरपरिवारजनले मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने अवस्था रहेको मानवअधिकारकर्मी वीरेन्द्र कर्णले बताए ।

 

 


सम्बन्धित समाचार