Logo

११ पुस,वीरगञ्ज । बारा कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याप्रकरणमा थप एक जना ‘सापर्’ सुटर पक्राउ परेका छन् ।
घटनाको ५८ औं दिनमा स्वर्णकार हत्याप्रकरणमा भनिएका मुख्य सुटरहरुमध्ये एकजनालाई पक्राउ गरेको हो ।

बारा प्रहरीले मुख्य सुटर भनिएकामध्ये विहार मोतिहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनिका ३२ वर्षीय सुजित कुमार सिंहलाई पक्राउ गरेको हो ।
स्वर्णकार हत्याकाण्डमा सिंहसहित, चञ्चल पाण्डे, मनिष सहनी र कामेश्वर सहनी गरी ४ जनाको नाम मुख्य सुटरमा प्रहरी दर्ज छ ।

पक्राउ परेका सिंहलाई घुडामुनि गोली हानी नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।


बारा प्रहरीले विज्ञप्ति जारी गर्दै गोली हानेर सार्प सुटरलाई पक्राउ गरेको जानकारीसमेत दिएको छ ।

बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बारा प्रहरीले भनेको छ, ‘सुजित कुमार सिंहसहितका व्यक्तिहरु हतियार लिएर नेपाल प्रवेश गरिरहेको हामीलाई सूचना आयो, त्यही सूचनाको आधारमा प्रहरीले जाँचमा कडाइ ग¥यो ।

जसअन्तर्गत सिंह र प्रहरीबीच बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मा भेट भयो, त्यहीक्रममा सिंहलाई रोकेर जाँच गर्दा उनले प्रहरीमाथि गोली चलाए, त्यसको जवाफी कारबाहीमा प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिइयो ।’

यही विज्ञप्तिमा प्रहरीले सिंहको साथबाट एक थान घरेलु हतियार, फायर भएको गोलीको खोकासहित गोली पनि बरामद उल्लेख गरेको छ ।

मनगढन्त प्रहरी विज्ञप्ति

तर प्रहरीको यो विज्ञप्तिमा तालमेल मिलेको छैन् । त्यसका २ कारण छन् । पहिलो कारण हो, त्यो सार्प सुटर हो भनेर प्रहरीलाई पहिलादेखि नै थाहा थियो, अनि यस्तो सार्प सुटरलाई कसैले रोकेर नियन्त्रणमा लिन खोज्छ त ? कि सिधै घेरा हालेर अथवा अरु प्रहरी जुक्ति लगाएर पक्राउ गर्छन् ।

दोस्रो कारणमा, सुटरलाई पनि आफू बारा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको जानकारी थियो । किनभने बारा प्रहरीले नै पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराइसकेको थियो । हो, अनि यसरी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका व्यक्ति कसरी बारातर्फ आउँछन् ?

यी २ वटा प्रश्न गम्भीर छ, शंकास्पद छ । यी प्रश्नले नै त्यो विज्ञप्तिमा भनिएका कुराहरुबीच तालमेल नखाएको प्रष्टयाइरहेको छ ।
यो प्रश्नले प्रहरीबाट जारी विज्ञप्ति आधारहीन रहेको पुष्टि भइरहेको छ ।

अर्थात् सिंह पक्राउको प्रहरी सूचना मनगढन्त रहेको छर्लङ पारिरहेको छ, जानीजानी सीमाना ल्याएर गोली चलाएर समातेको नाटकको पर्दाफास गर्न बल पुगेको बताइन्छ ।
घटनाको वास्तविकताबारे लुकाएर नाटक मञ्चन गरिएको एक पूर्वप्रहरी अधिकारी बताउँछन् । उनका अनुसार कानुनी बाध्यताले सिधै भारतबाट अपराधी ल्याउन नमिल्ने भएकाले प्रहरीले सीमाबाट पक्राउ गरेको देखाउनुसम्म ठिकै हो ।

उनी भन्छन्, तर गोली चलाएर घाइते बनाउनु, बन्दुक फेला पार्नु यो पूरौ नाटकजस्तो नै देखियो । यस्ता गतिविधिले प्रहरीले गर्ने राम्रो काममा पनि जनताको टुट्दै जान्छ, अनि प्रहरीमाथि विश्वास घट्दै जान्छ ।’

के हो वास्तविकता ?

बारामा भएको स्वर्णकार हत्याकाण्ड गम्भीर प्रकृतिको थियो, जुनकारण यो घटना मधेशमा बहुचर्चित बन्यो ।
दिनदहाडै गोली हानेर मुख्य सडकबाटै अपराधी फरार भएपछि चौतर्फी दबाब प्रहरीमा पुग्न गयो ।

त्यसपछि घटनालाई सुल्झाउन प्रहरीलाई हम्मेहम्मे भयो ।
त्यसको बाबजुद पनि केही घण्टामा भने प्रहरीले घटनाको अनुसन्धानलाई एउटा निचोडमा भने पु¥यायो । अर्थात् घटनाको हुनुको कारण र संलग्न सहयोगीहरुलाई समाएर घटना नजिक प्रहरी पुग्यो ।

त्यसपछि प्रहरीले ‘नीड टु नो’ योजनामा अनुसन्धान प्रक्रिया अगाडि बढायो । प्रहरी स्रोतका अनुसार यही अनुसन्धानको सिलसिलामा प्रहरीले मुख्य सुटरबारे डिटेल्स पत्ता लाग्यो । त्यसपछि उनीहरुमाथि निगरानी सुरु गर्‍यो, अनि खोज्न थाल्यो भारतीय प्रहरीको सहयोग ।

भारतीय प्रहरीले सहयोग नगरेसम्म अपराधीलाई भारतबाट कानुनी हिसाबले ल्याउन नमिल्ने भएकाले प्रहरीले ‘वेट एण्ड वाच’ फर्मुला अपनायो ।
स्रोत भन्छ, ‘यहीकारण भारतीय प्रहरीको ग्रीन सिंग्नल कुर्न नेपाल प्रहरीलाई ५८ दिनसम्म अपराधीको रेकी गर्नुप¥यो, जब भारतीय प्रहरीबाट ग्रीन सिंग्नल आयो, अनि सिंहलाई तुरुन्त उठाइयो ।’

स्रोतका अनुसार नेपाल प्रहरीले सिंहलाई भारत पश्चिम बंगालको कोलकत्ताबाट पक्राउ गरेको हो ।

कसरी गरियो पक्राउ ?
स्वर्णकारको हत्या भएपछि बारा प्रहरीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान बढायो । यो क्रममा विभिन्न प्राविधिक पाटोबाट समेत अनुसन्धान चलाइएको एक अधिकारीले सुनाए ।

त्यहीक्रममा सिंह गोली हानेर भागेको फुटेज प्रहरीले फेला पारेको ती प्रहरी अधिकारी सुनाउछन् । उनका अनुसार त्यसपछि मुख्य सुटर सिंह र मुख्य योजनाकार मनोज गुप्ताको नम्बर जाँच गरियो, जसमा दुबैबीच वार्तालाप भएको प्रमाण भेटियो ।

यही प्रमाणले सिंह प्रयोग गर्दै आएको नम्बर भारतीय प्रहरीको सहयोगमा लोकेसन ‘ट्रेस’ ग¥यो । नाम नराख्ने हिसाबले ती प्रहरी अधिकारी भने,‘त्यसपछि सिंहलाई पक्राउ गर्न विशेष टोली खटाइयो, जुनियर अफिसरको कमाण्डमा । ती अफिसरले करिब डेढ महिना लगातार सिंहको निगरानी गरिरहे,कोलकत्तामै बसेर । सबै सिंग्नल ‘क्ल्यिर’भएपछि त्यहीबाट उठाइयो ।’

अनुसन्धानको हदम्याद एकदिन मात्र बाँकी

प्रधानाध्यापक रुपेशको कार्तिक १३ गते गोली हानी हत्या भएको थियो । हत्या भएको तीन दिनमा पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रेम सम्बन्धका कारण मारिएको बतायो ।
स्थानीय राधा गुप्तासंगको प्रेमका कारण हत्या भएको प्रहरी दाबी गर्दै त्यसमा सहयोगी भूमिकामा संलग्न रहेको भन्दै ५ जनालाई सार्वजनिक समेत ग¥यो, जसमा प्रेमिका भनिएका गुप्तासंगै अन्य ४ जनाको नाम थियो ।

पहिलो चरणमा पक्राउ परेकाहरुमाथि बारा प्रहरीले संगठित अपराधमा मुद्दा चलाउदै अनुसन्धान प्रक्रिया जारी राख्यो ।
त्यहीक्रममा हिजो ५८ औं दिनमा मात्र प्रहरीले एकजनालाई पक्राउ गर्‍यो भने अन्य मुख्य योजनाकार भनिएका मनोज गुप्तासहित मुख्य सुटर ३ जना फरार नै छन् ।

तर प्रहरीले चलाएको संगठित अपराध अन्तर्गतको मुद्दाको अनुसन्धान गर्ने हद म्याद ६० दिनको हुने कानुनी व्यवस्था छ ।
त्यो प्रावधान बाध्यताले प्रहरी ६० औं दिनमा हत्यासंग सम्बन्धित मिसिल अदालतमा पेस गर्नुपर्ने हुन्छ, जुन हिसाबले भोली नै अन्तिम दिन रहेको देखिन्छ ।

 

 


सम्बन्धित समाचार