Logo

१२ पुस,वीरगञ्ज । पर्सेली सञ्चारकर्मीहरुसंग सिडिओ भुसालको भेटघाट, भने– आफ्ना समर्थकबाहेककालाई नागरिकता सिफारिसमा आलटाल गर्ने वडाअध्यक्षलाई कानुनी दायरा ल्याइन्छ

जिल्ला प्रशासन कार्यालय पर्साको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आज सञ्चारकर्मीहरुसंग पचियात्मक कार्यक्रम गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भुसालले कार्यभार सम्हालेको पाँचौं दिनमा सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा बोल्दै सिडिओ भुसालले जिल्लामा सेवा प्रवाहमा कुनै कमी नगर्ने बताएका छन् ।

उनले भने,‘सिडिओबाट विशेषगरी नागरिकतासंग सम्बन्धित सेवा प्रवाह हुन्छ, यस्ता सेवा लिन आउने सेवाग्राहीको सबै कागजात पूरा भएको पाइएमा चाँडै नागरिकता दिइन्छ, केवल लाइनमा पालो कुर्नुपर्नेबाहेक भन्दा बढी समय नलगाएर नागरिकता सेवा उपलब्ध गराइन्छ ।’

नागरिकताकै सवालमा कुरा गर्दै प्रजिअ भुसालले तराइका जिल्लाहरुमा वडाअध्यक्षहरुले आफूलाई भोट नदिएकाहरुको नागरिकता सिफारिस नगर्ने गरेको सुनिएको उल्लेख गरे ।

उनले भने,‘तर मेरो कार्यकालमा यस्तो हुन दिने छैन, कुनै वडाअध्यक्षले भोट नै नदिएको आधारमा सिफारिस गरेनन् भने त्यसलाई झिकाएर समस्या समाधान गराइन्छ । तर वडाअध्यक्षले गर्ने भेदभावमा छाडिदैन । यसको लागि पनि विस्तृत खाका बनाएर सिडिओबाट कडा ‘एक्सन’ लिने तयारी पनि गरिदैछ ।’

सञ्चारकर्मीहरुसंगको कुराकानीमा सिडिओ भुसालले पहिले भन्दा अहिले पर्सा जिल्लामा धेरै परिवर्तन आएको वृत्तान्त सुनाए । त्यसकारण अब म आफ्नो कार्यकालमा मुख्यगरी ३ वटा बुदामा केन्द्रीत भइ सेवा प्रवाह गर्नेछु,’उनले भने ।

उनी भन्छन्,‘सुशासन, समृद्धि र सामाजिक न्याय गरी यी तीन वटा बुदामा हाम्रो क्रियाकलाप केन्द्रीत रहन्छ, सबै सम्बन्धित निकायसंगको समन्वयमा यी बुदालाई नै सफल बनाउन लागिन्छ । भर्खरै प्रधानमन्त्रीज्यूले पनि यसैलाई मूलमन्त्र बनाएर सेवा प्रवाह गर्ने घोषणा गर्नुभएको छ, हामी पनि त्यसैमा केन्द्रीत भएर सेवा प्रवाह गर्छौं ।’

जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने लक्ष्य लिइएको जनाउँदै सिडिओ भुसालले भने सेवामा जनताको पहुँच बढाउनुतर्फ ध्यान केन्द्रीत गर्नेछु ।

यही आइतबारदेखि सिडिओ भुसालले पर्साको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका हुन् ।


सम्बन्धित समाचार