Logo

फाइल तस्बिर

१३ पुस,काठमाडौं। सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । हेटौंडामा शुक्रबार भएको ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको हो ।

बैठकमा शनिबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने विषयमा छलफल भएको छ । बैठकपछि सबै मुख्यमन्त्रीहरु शुक्रबार काठमाडौँ प्रस्थान गर्ने जनाइएको छ ।

केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन् । बिहीबारबाट सुरु भएको भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी थिए ।

संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्त्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ ।

यसअघि उनीहरुले संविधानले दिएको अधिकार अनुसार कानुन निर्माण गर्न र अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेटेर दबाब दिएका थिए ।

कानुन अभावमा कर्मचारी, प्रहरी, शिक्षालगायतका क्षेत्रका काम प्रभावित भएको मुख्यमन्त्रीहरूको गुनासो छ ।

यसअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूले गत असारमा पोखरामा भेला गर्दै ६ महिनाभित्र अधिकार दिन माग गरेका थिए ।


सम्बन्धित समाचार