Logo

१४ पुस,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई प्रयोगशाला सहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्र जीतपुरसिमरामा निर्माण गर्न अनुरोध गर्नुभएको छ ।

काठमाण्डौमा आयोजित माओवादीको मधेसका नेताहरुसँगको बैठकमा मेयर पौडेलले प्रयोगशाला सहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्र निर्माण गर्न प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रस्ताव पेश गर्नुभएको छ ।

बैठकमा मधेस प्रदेशमा रहेका केन्द्रिय सदस्य, वैकल्पिक केन्द्रिय सदस्य, आयोग सदस्य र केन्द्रिय सल्लाहकारमा सहभागि भएका थिए । पार्टी केन्द्रिय सचिव एवं प्रदेश इन्चार्ज लिलामणी पोखरेलको अध्यक्षतामा भएको बैंठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सहभागि थिए ।

पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी असार मसान्तसम्म ३० वटा प्रयोगशाला सहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्रको निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन् ।

नयाँ योजना तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथामिकता दिदै अत्यन्तै उपयोगी तथा लोकप्रिय कार्यक्रमको रुपमा ‘टाईम लाईन’ सहित केन्द्र बनाउने घोषणा भएपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद व्यक्त गर्दै पत्र बुझाएका छन् ।

नगर प्रमुख पौडेलले पेश गर्नुभएको प्रस्तावमा जीतपुरसिमरा उपमहानगरपालिका पशुपालन, माछा, तरकारी, मकै, धान, उखु, गहुँखेति लगायतको कृषि उत्पादनमा महत्वपूणर् योगदान दिदै ठुलो परिमाणमा निकासी समेत गरिरहेको जानकारी गराएका छन् । उनले देशकै सबैभन्दा पुरानो र ठुलो पाडा, राँगा बजार जीतपुरमा रहेको र दैनिक करिब २५ हजार लिटर दुधको उत्पादन तथा काठमाडौं लगायतको ठाउँमा निकासी समेत हुने उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार