Logo

१४ पुस,काठमाडौं । कोरियामा पानीजहाज क्षेत्रअन्तर्गत रोजगारीमा जानका लागि फाराम भरेका सबैलाई रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन भर्न पाउने भएका छन्। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले पानीजहाज क्षेत्रका लागि फाराम भरेका युवाहरुलाई ईपीएसको फाराम भर्न व्यवस्था गरेको हो।

ईपीएस कोरिया शाखाले पुस १६ गते, आइतबारदेखि पुस १८ गते बुधबारसम्म फाराम भर्ने मिति तय गरेको छ। यस्तो फाराम यसअघि पानीजहाज क्षेत्र (सीप बिल्डिङ सेक्टर)का लागि फाराम भरेकाहरुले मात्रै भर्न पाउनेछन्।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियाको मानव संशाधन विभागको परिपत्र भन्दै पानीजहाज क्षेत्रमा जानका लागि परीक्षा दिएकालाई सन् २०२३ मा खुलेका ईपीएसका अन्य परीक्षामा सामेल नगराउने निर्णय गरेको थियो।

त्यसको विरुद्धमा दायर भएको रिटमा निर्णय सुनाउँदै उच्च अदालत पाटनले सुरुमा ‘निवेदकहरु’लाई परीक्षामा सामेल गराउन भनेको थियो। रिट निवेदकहरु मात्रै परीक्षामा सामेल हुन पाउने भनेर आदेश भएको भन्दै ईपीएस कोरिया शाखाले पानी जहाजका लागि परीक्षा दिएका अन्यलाई ईपीएस परीक्षामा सामेल गराउन नसकिने बताएको थियो।

त्यसपछि पुनः उच्च अदालत पाटनमा रिट दायर भएको थियो। पछिल्लो रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सबै जनालाई ईपीएसको आवेदन भर्न रोक नलगाउन आदेश दिएको हो।

उच्च अदालत पाटनले शुक्रबार आदेश जारी गर्नु अगाडिसम्म झण्डै ३० हजार बढी युवाहरु सन् २०२३ मा ईपीएसको फाराम भर्न नपाइने भन्दै आन्दोलित थिए। युवाहरुले शुक्रबार ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा २ जनाको मृत्यु समेत भएको छ। जसबारे छानबिन गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति गठन गरेको छ।


सम्बन्धित समाचार