Logo

१४ पुस,वीरगञ्ज । नेशनल हेल्थ केयर प्राइभेट लिमिटेड कम्पनीले उत्पादन गरिरहेको औषधीमा गम्भीर लापरबाही गरिरहेको खुलासा भएको छ ।

बारामा रहेको नेशनल हेल्थ केयर प्राइभेट लिमिटेडबाट उत्पादित औषधीमा कमिला भेटिएपछि कम्पनीको लापरबाहीको पर्दाफास भएको हो ।
नेशनल हेल्थ केयर कम्पनीले उत्पादन गरेको एक ‘इन्जेक्सन’मा कमिला भेटिएको छ ।

सरकारी अस्पतालको फार्मेसीबाट विक्री भएको ‘ट्याजोलिन’ नामक इन्जेक्सनमा कमिला भेटिएको भिडिओ बाहिरिएको हो ।
अर्थात् बीरगञ्जको नारायणी अस्पतालमा उपचारार्थ एक विरामीलाई इन्जेक्सन दिने बेलामा ‘ट्याजोलिन’ नामक शील बन्द ‘भायल’मा जाँच गर्दा कमिला देखिएको थियो ।

अस्पताल स्रोतका अनुसार ती विरामीले अस्पतालकै फार्मेसीबाट इन्जेक्सन किनेर लगेका थिए ।
अस्पतालको फार्मेसीबाट किनिएको इन्जेक्सनमा नै कमिला भेटिएपछि विकास समितिदेखि लिएर पूरै हल्लीखल्ली मच्चियो, अस्पतालका विरामी सबै त्रसित छन् ।

कारण– फार्मेसीबाट किनिने औषधीमा सर्वसाधारणको विश्वास हुन्छ, तर यहीको इन्जेक्सनबाट कमिला भेटिएपछि सबैतिर चर्चाको विषय बन्यो ।

अस्पतालकै फार्मेसीबाट किनिएको थियो इन्जेक्सन

यसरी अस्पतालको फार्मेसीबाट गुणस्तरहीन इन्जेक्सन बरामद भएपछि अस्पताल विकास समिति झनै गम्भीर बन्यो । अनि सुरु ग¥यो–फेला परेको इन्जेक्सनको छानविन ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार तीन दिन अगाडि अस्पतालमा भर्ना रहेका एक विरामीले उक्त औषधी अस्पतालकै फार्मेसीबाट किनेका थिए ।

उनले भने,‘हाम्रै फार्मेसीबाट किनिएको इन्जेक्सनमा कमिला भेटिएपछि हामी झनै गम्भीर भयौ, त्यसपछि यसको वास्तविकताबारे बुझ्न थालियो । यो एकदम गम्भीर मुद्दा भएकोले हामीले यसको अनुसन्धानका लागि औषधी व्यवस्था विभागमा समेत पत्र पठाइसकेका छौं ।’

उनका अनुसार यसको बाँकी प्रक्रिया अब औषधी व्यवस्था विभागले गर्नेछ । एक चिकित्सकका अनुसार ‘ब्याक्टेरियल इन्फेक्सन’मा चलाउने औषधी हो । अर्थात् यसलाई खासगरी एन्टिबायोटिक औषधीको रुपमा चलाइन्छ ।

के छ कानुनी व्यवस्था ?

जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएको औषधीको उत्पादन, विक्री वितरण, निकासी पैठारी संचय र सेवनको मनाही गर्ने कार्यको जिम्मेदारी औषधी विभागको हो ।
तर यहाँ भने औषधी व्यवस्था विभागको फितलो कार्यले खुलेआम नागरिकको स्वास्थ्यसंग खेलवाड हुने इन्जेक्सन विक्री वितरण भइरहेको घटना उजागर भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कानुनतः यो एक अपराध हो । औषधी ऐन २०३५ ले यसबारेमा प्रष्ट बोलेको छ ।

यसको अनुच्छेद ५ को दफा १३ मा भनिएको छ– तोकिएको स्तर नभएको औषधीको उत्पादन, विक्री–वितरण, निकासी–पैठारी, संञ्चय वा सेवन गर्न मनाही गरेको छ ।
उत्पादित गुणस्तरहीन औषधीको प्रयोगबाट मानवीय क्षति भएमा त्यसलाई हत्या सरह मानिनेछ, यसको सबै क्षतिपूर्ति उत्पादित कम्पनीले व्यहोर्नु पर्छ ।

 


सम्बन्धित समाचार