Logo

१४ पुस,वीरगञ्ज । पुस महिनाको दोस्रो साताक्रस गरेसँगै तराईमा शितलहर पर्न थालेको छ । मध्य तराइका अधिकाशंका ठाउँमा आज(शनिबार) देखि जाडो बढेको छ ।

तराइका जिल्लामा यसअघि चिसो र जाडो बढे पनि शीतलहरको प्रवाह थिएन । तर, शुक्रबार रातीदेखि जिल्लामा शितलहर बढेको हो ।
घाम हराएसँगै बढेको शीतलहरका कारण कामकाज गर्न सर्वसाधरणलाई असहज भएको छ । अचानक तराइमा बढेको जाडोले पर्सा,बारा,रौतहटसहित मध्य तराइका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

वर्षेनी तराईका जिल्लामा चिसोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । शीतलहरका कारण बढेको जाडोले कठ्याङग्रिएर मानवदेखि पशु चौपायासमेत प्रभावित छन् ।

अत्यधिक चिसोका कारण सबैभन्दा बढी विद्यालय जाने तथा घरमा रहने बालबालिका र वृद्धबृद्धालाई असर पर्ने देखिएको छ । शीतलहर र चिसो बढ्ने क्रम रहेमा खेतबारीमा लगाइएका तरकारीलगाएतका अन्य बालीमा समेत कमि आउनेमा किसानहरु चिन्तित छन् ।

आकाशबाट झरेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सडकमा सर्वसाधारणको हिँड्डुलमा कमी आएको छ ।

शीतलहर र हुस्सुका समयमा सडकमा सवारी दुर्घटना हुनसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारीसाधन विस्तारै चलाउन र बिहान तथा दिउँसो सवारी चलाउँदा बत्ती बाल्न सुझाउँदै आएको जनाएको छ ।

मध्य तराईका जिल्लामा शितलहर तथा चिसोका कारण वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् ।

 


सम्बन्धित समाचार