Logo

१५पुस,जनकपुर । सत्तारुढ नेपाली कांग्रेस मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णकुमार यादवले वरिष्ठता, कार्यक्षमता, समावेशी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जानकारी दिए ।

प्राथमिकताका अनुसार सातजना नेताको नाम कांग्रेस केन्द्रीय समितिमा पठाइएको मधेश प्रदेशका भौतिक विकास पूर्वाधारमन्त्रीसमेत रहेका सभापति यादवले बताए ।

उनले वरिष्ठताका आधारमा सम्भावित सूचीको पहिलो नम्बरमा नै केन्द्रीय सदस्यसमेत रहेका अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई राखिएको छ । उनको नाम समानुपातिकतर्फको बन्द सूचीमा पनि थियो ।

सो सूचीबाट उनको नाम फिर्ता लिएको उनले बताए ।

दोश्रो नम्बरमा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम रहेको छ । गत निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको प्रत्यासी उम्मेदवार थिए ।
त्यसपछि क्रमशः सर्लाहीबाट नागेन्द्रकुमार, बाराबाट राधेचन्द्र यादव, महोत्तरीबट रामचन्द्र तिवारी, पर्साबाट रजिन्द्रबहादुर अमात्य र रौतहटबाट हृदयनारायण यादवको नाम राष्ट्रियसभा सदस्यको निर्वाचनको आकांक्षी उम्मेदवारका लागि टुंगो लगाउन कांग्रेसको केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सात वटै प्रदेशबाट नाम संकलन गरेको छ ।
राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी पुस २३ गते उम्मेदवारले आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ । भने एकजनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

 


सम्बन्धित समाचार