Logo

१५ पुस,काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा लागि मन्त्रालयगत आधारमा माइलस्टोनहरुको विवरण तयार पारेको छ। उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि निर्धारण गरिएका माइलस्टोनहरुको प्रगतिमा स्वास्थ्य मन्त्रालयले उत्तीर्ण हुने नम्बर पनि ल्याउन सकेको छैन।

सामान्यतया परीक्षामा एक सय पूर्णाङ्कमा ४० नम्बरलाई उत्तीर्ण हुने नम्बरका रुपमा लिइन्छ। सोही प्रतिशतलाई टेकेर हेर्दा स्वास्थ्य मन्त्रालयले कात्तिक महिनासम्म पुरा गर्नुपर्ने लक्ष्य पुसको दोस्रो सातासम्म पनि पुरा गर्न सकेको छैन। निर्धारित समयभन्दा डेढ महिना बढी समय थप हुँदा पनि स्वास्थ्य मन्त्रालयले जम्मा ३८ प्रतिशत मात्र काम सम्पन्न गरेर असफल भएको छ।

’माइलस्टोनको हालसम्मको प्रगतिमा त हाम्रो (स्वास्थ्य) मन्त्रालय फेल पो भएछ,’ मन्त्रालयका एक कर्मचारीले भने, ’मन्त्रीज्यू बिहान ८ देखि राती ११ बजेसम्म काम गरेको छु भनेर गफ लगाउनु हुन्छ। तर नतिजा चाँही असफल आएको छ।

उहाँको व्यस्तता केमा रहेछ आफैं बुझ्नुहोस्।’ ती कर्मचारीका अनुसार स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई माइलस्टोनमा रहेका विषय र नीतिगत सुधारका काममा भन्दा पनि प्रचारमा आउने झिनामसिना कुरामा चासो हुँदा मन्त्रालयले प्रगति हात पार्न नसकेको हो।

प्रधानमन्त्री कार्यालयबाट उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।

स्वास्थ्य मन्त्रालयले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२२, १३३ देखि १४५ सम्म र बजेट वक्तव्यको बुँदा नम्बर ४७, ५०, ५२, २२४ देखि २५२ सम्म रहेका क्रियाकलाप अन्तर्गत १९३ वटा माइलस्टोनमध्ये १०४ वटा माइलस्टोनका कार्यक्रम कात्तिक मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर उक्त समय सकिएर पुसको दोस्रो सातासम्म आइपुग्दा पनि ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ।

’स्वास्थ्य अन्तर्गत कात्तिकभित्र सम्पन्न गर्नुपर्ने १०४ वटा माइलस्टोनहरुमा ५७ वटाको काम नै सुरु नभएको र ४७ वटा काम भइरहेको र सम्पन्न भएको विवरणमा देखिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ’यसमा स्वास्थ्य मन्त्रालय र माताहतका विभाग र प्रतिष्ठानले गर्नुपर्ने कामहरु छन्।

तर सबैभन्दा धेरै मन्त्रालयबाट नै हुनुपर्ने काम सुरु भएको देखिँदैन। यो भनेको मन्त्रीले नै चासो नदिएको जस्तो देखियो।’ उनका अनुसार मन्त्रालयबाट नै हुने भनिएको १९ वटा माइलस्टोनमा १३ वटाको काम नै सुरु भएको छैन। काम भएकामध्येमा पनि ४ वटा काम अझै सकिएको छैन।

मन्त्री बस्नेतले माइलस्टोनमा उल्लेख गरिएका विषयमध्ये मन्त्रिपरिषदमा पेस गर्नुपर्ने विषयहरुको काम समेत भएको छैन। आधारभूत स्वास्थ्य सेवा केन्द्रको संगठन संरचनाको नमूना मस्यौदा मन्त्रिपरिषदमा पेश गर्ने, आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिन आवश्यक पर्ने परिमार्जित कानून मन्त्रिपरिषदमा पेश गर्ने, सिंहदरबार वैद्यखानाको हालको अवस्थाको अध्ययन गरी सुधारको लागि पुनः संरचना मन्त्रिपरिषदमा पेश गर्ने, किटजन्य रोग अनुसन्धान तथा तालिम बिकास समिति खारेजको प्रस्ताव र स्वास्थ्य सेवा विभाग अन्तरगत रहने गरी संगठन तथा ब्यबस्थापन सर्वेक्षण तयार गरी स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गर्ने लगायतका काम कात्तिक महिनाभित्र नै सम्पन्न हुनु पर्नेमा हालसम्म पनि भएको छैन।

यस्तै, सेती, सुर्खेत र नारायणी अस्पतालमा मुटुको शल्यक्रिया र क्यान्सर रोग समेतको निदान हुनसक्ने सुपर स्पेशियालिटी सेवा विस्तार गर्ने, ’एक चिकित्सक÷स्वास्थ्य कर्मी एक स्वास्थ्य संस्था कार्यक्रम संचालन कार्यविधि, २०७७“ र “बिस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धि कार्यविधि २०७७’ अनुसार वीर अस्पताल, कान्ती बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा संचालन गर्ने विषयमा पनि काम सुरु नै हुन सकेको छैन।

यसैगरी, स्वास्थ्य बीमा ऐन २०७४ संशोधन विधयेक मन्त्रिपरिषदमा पेश गर्ने, सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी कार्यविधि स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गर्ने, किटजन्य रोग निदान, उपचार तथा नियन्त्रणका लागि औषधि तथा किटहरू खरिद, बाँझोपना व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने, अभियान तथा नियमित खोपमा एचपीभी खोप संचालनको लागि कार्यक्रम संचालन निर्देशिका तयार गर्ने लगायतका काम पनि सुरु नै भएको छैन।

मन्त्री बस्नेत आफूले गर्नुपर्ने र मन्त्रिपरिषदमा लैजानु पर्ने विषयसहित पास भएका नीति, रणनीति, योजना तथा कानुन कार्यान्वयनतर्फ भन्दा पनि तत्कालै हल्ला हुने विषयमा मात्र काम गर्न रुचाउन थालेपछि मन्त्रालय कर्मचारीहरु पनि आजित हुन थालेका छन्। उनीहरुनै अहिले मन्त्रीको ध्यान काममा भन्दा प्रचारमा रहेको भन्दै आलोचना गर्न थालेका छन्।

यो बीचमा भवन नभएका आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि सुचि तयार गर्ने काम, वर्दिवास, चन्द्रागिरि र वालिङ्ग नगरपालिकाको अशक्त, असहाय र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने, अशक्त, असहाय र ज्येष्ठ नागरिकको स्वास्थ्य स्किरिनिङ गरि प्राथमिक स्वास्थ्य सेवा प्रदान प्रारम्भ गर्ने, नागरिक आरोग्य अभियान संचालन जस्ता केही काम भएका छन्।

’माइलस्टोनमा रहेका काममा प्रथामिकता दिनुभन्दा पनि मन्त्री बस्नेतको ध्यान प्रचारमा बढी केन्द्रित हुँदा अधिकांश माइलस्टोनमा रातो देखिएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने।


सम्बन्धित समाचार