Logo

१८ पुस,वीरगञ्ज । वीरगञ्जको ‘आर.के एण्ड सन्स’ सुनचाँदी पसलका सञ्चालक दुई देशको नागरिक भएको खुलासा भएको छ । माइस्थानस्थितसहितको सुनचाँदी पसलमा राजस्व अनुसन्धानले गरेको छापामारीपछि यस्तो खुलासा भएको हो ।

बीरगञ्जको माइस्थानमा सुन पसल चलाउँदै आएका रामनाथ साह सोनार भारत विहारको नागरिक भएको ‘डकुमेन्ट’ भेटिएको छ । अर्थात् साह नेपाल र भारत दुबै देशका नागरिक ‘होल्डर’ रहेको तथ्य फेला परेको छ ।

साहको भारतीय नागरिकताकाे विवरण

बिहार पञ्चायत आम निर्वाचन नामावली २०२१ मा ‘आर.के एण्ड सन्स’ सुनचाँदी पसलका सञ्चालक सोनारसहितको परिवारको नाम दर्ज छ । अर्थात् अहिलेसम्म उनी विहारका नागरिक नै छन् ।

त्यस मतदाता नामावलीमा सुनारको आदापुर प्रखण्डको सिरिसिया पञ्चायतको थाना आदापुर लेखिएको छ, जुन सरकारी विवरण हो ।
यो विवरणमा आर.के एण्ड सन्स’ पसलका सञ्चालक सोनारको २७५ नम्बरको मतदातामा बुवाको नाम महादेव साह लेखिएको छ ।

आदापुरका साह पाँच दाजुभाइ छन्, जसमध्ये शम्भु साह सोनारको मृत्यु भइसकेको छ । स्रोतका अनुसार साहको बाँकी ४ दाजुभाइ नेपाल र भारत दुबै देशमा बसोबास मात्र गर्दैन, दुबै देशको मतदातासंगै कानुनतह नागरिक पनि छन् ।

नेपालमा पनि नागरिकता

डबल नागरिक रामनाथ साह सोनारले पर्सा जिल्लाबाट पनि नागरिकता लिएका छन् । जिल्लाको साबिक गाउँ बगहीबाट नागरिकता लिएको प्रमाण फेला परेको छ ।
बगहीबाट भारतीय बुवा महादेव साह सोनारकै नामबाट ०४४६२१७८ नम्बरको नागरिकता प्राप्त गरेका छन् ।

जन्म मिति २०२५ सालमा देखाउँदै साहले ०५४ सालको ११ मंसिरमा नागरिकता लिएको देखिन्छ । नागरिकसंगै उनी उहिलेदेखि मतदाता पनि छन् । उनको मतदाता नम्बरको हो–५२५४६१ ।

स्रोतका अनुसार उनी मात्रै नभइ अन्य दाजुभाइ सँग  भारतीय र नेपाली नागरिकता रहेकाे छ । पाँच दाजुभाइमध्ये एक जनाको मृत्यु भइसकेको र अन्य ४ जनाले पनि रामनाथ साहजस्तै नागरिकता हत्याएका छन् ।

यसरी उनी दुबै देशको नागरिक रहेको तथ्यसहित प्रमाण फेला परेपछि उनीविरुद्ध जाहेरी नपरेको भनेको होइन ।
बीरगञ्जकै एकजनाले गृह मन्त्रालयसम्म रामनाथ साह सोनारसहितका दाजुभाइविरुद्ध उजुरी दिएका छन् । झुट्ठा विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै १६ पन्ने उजुरी दिइएको छ ।

तर अहिलेसम्म सोनार भने कानुनी दायरामा आउन सकेका छैनन् । कानुनी दायरामा नआएका सोनारले अवैध धन्दाको साम्राज्य खडा गरेको राजस्व अनुसन्धानमा उजुरी परेपछि मंगलबार मात्रै उनको सुनचाँदी पसलमा छापामारी भएको छ ।

सुनचाँदी पसलको बारेमा सूचनाहरु आएपछि उनका पसलमा छापामारी गरिएको राजस्व अनुसन्धान पथलैयाका प्रमुख प्रेम प्रसाद देवकोटा बताउँछन् । राजस्व कार्यालय पथलैयाको टोलीले उनको सुनचाँदी पसलबाट एक बोरा कागजपत्र लिएर गएको बताइएको छ ।

के भन्छ कानुनले ?

यो त भयो उनको अवैधको कहानी । तर यो भन्दा गम्भीर विषय अर्को छ, जुन हो– झुट्ठा विवरण पेश गरी नागरिकता लिएको ।
कानुनी हिसाबले एउटा नागरिकले दुई देशको नागरिक बन्न पाउँदैन् ।

तर आदापुरका यी साह परिवार भने कानुनलाइ चुनाैती दिदै दुबै देशकाे नागरिक बनेका छन् ।
यो गम्भीर विषयको सबुत प्रमाण हुँदाहुँदै पनि प्रशासनिक निकायबाट कारबाही प्रक्रिया नचाल्दा प्रशासनमाथि गम्भीर प्रश्न मात्रै खडा भएको छैन, आर्थिक चलखेलले प्रशासनकै आडले देशमा जेसुकै गर्न पाइन्छ भन्ने म्यासेज दिइरहेको छ ।

कारण– झुट्ठा विवरण पेश गरी नागरिकता लिएकाविरुद्ध नेपालको कानुन कडा छ । कानुनले प्रष्ट बोलेको छ–‘ नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ भन्ने व्यवस्था छ भने ऐनको दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन भन्ने व्यवस्था छ ।

त्यस्तै ऐन को दफा १४ मा कुनै विदेशी व्यक्तिले झुठ्ठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ भन्ने व्यवस्था छ ।’

के छ सजायको व्यवस्था ?

विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिइ नेपाली नागरिकता प्राप्त गरेमा कडा कानुनी व्यवस्था छ ।
कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।

यसैगरी कनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कारबाही हुन्छ : सिडिओ भुसाल

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले रामनाथ साह सोनारको बारेमा आफू जानकार नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले भने,‘तर यसको बारेमा सबै छानविन गर्छु, झुठो विवरणको आधारमा नागरिकता दिइएको छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउछु ।’ कागजीरुपमा कमजोरी पाइएमा कसैलाई नछाडिने सिडिओ भुसालले जनाए ।


सम्बन्धित समाचार