Logo

१९ पुष, काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा स्वीकृत भएको जानकारी दिए । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।

प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहीबार ‍‍जानकारी गराएको हो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको छ’, आचार्यको भनाइ छ ।

यसअघि गजुरेलले आफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । रातोपाटीसँग कुराकानी गर्दै उनले लामो समय राजीनामा होल्ड गर्दा सरकार र स्वयं प्रधानमन्त्रीलाई नै असर पुग्ने बताएका थिए ।

‘मैले मङ्सिर २० गतेबाट नै लागु हुने गरी राजीनामा दिएको हुँ । त्यस दिनबाट म बालुवाटार र सिंहदरबार कार्यालय गएको छैन । लामो समयसम्म उहाँले राजीनामा किन होल्ड गर्नुभयो, मैले बुझेको छैन । राजीनामा स्वीकृत नहुँदा सरकार र प्रधानमन्त्रीलाई नै असर गर्छ’, उनको भनाइ थियो ।

गजुरेलले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको दाबी गर्दै आएका छन् ।


सम्बन्धित समाचार