Logo

१९ पुस,वीरगञ्ज । बीरगञ्जको सुनचाँदी व्यवसायी रामनाथ साह सोनार पसलबाट राजस्वले बरामद गरेको कागजातमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
तीन दिन अगाडि राजस्व अनुसन्धान कार्यालय पथलैयाले ‘आरके।एण्ड सन्स’ र मा दुर्गा सुनचाँदी पसलमा छापामारी गरेको थियो ।

विशेष सूचनाको आधारमा छापामारी गर्दै राजस्व अनुसन्धान कार्यालय पथलैयाले सञ्चालक रामनाथ साह सोनारको दुइवटै पसलबाट एक बोरा विभिन्न खाले कागजात तथा मोबाइल र ल्यापटप नियन्त्रणमा लिएको थियो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयालका प्रमुख प्रेम प्रसाद देवकोटाले बरामद सबै कागजातमाथि प्रारम्भिक अनुसन्धान प्रक्रिया सुरु भइसकेको बताए ।
उनका अनुसार हिजो सबै कागजात जाँच भयो, मोबाइल तथा ल्यापटपबाट सबै आवश्यक सामग्री कपि गरियो ।

उनले भने,‘मोबाइल, ल्यापटपबाट सबै सामग्री कपि भइसकेको छ, कागजातको प्रारम्भिक जाँच भइसकेको छ । अब ती सबै विवरण राखेर आजै विभागमा पठाउँदैछौं । यसमा विभागीय कार्य सकिएपछि बाँकी अनुसन्धान प्रक्रिया द्रुत गतिमा गरिन्छ ।’

लगभग एक महिनामा मुद्दाको अनुसन्धान सकिने गरी कामको थालनी गरिएको उनी बताउँछन् । अन्य यस्ता खाले मुद्दामा बढी समय लाग्ने गर्छ, तर यो मुद्दा गम्भीर देखिएको छ,’उनले भने,‘त्यसकारण यसलाई हामी सक्दो चाँडो टुंगो लगाउँछौं ।’

यो मुद्दामा अन्य पनि अनुसन्धानको घेरामा आउन सक्ने देखिएको राजस्व स्रोतले जनाएको छ । स्रोतका अनुसार मोबाइल र ल्यापटपमा धेरै सूचना भेटिएको छ, ती सबैमाथि अनुसन्धान चलाउने तयारी छ ।


सम्बन्धित समाचार