Logo

१९ पुस,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुरका दलित विद्युतको पहुँचबाट बन्चित रहेका छन् । हुलाकी राजमार्ग अन्र्तगत वीरगञ्ज–ठोरी खण्डमा पर्ने भलुवाही पुलदेखि दक्षिणतर्फ १४ परिवारको विपन्न दलित समुदायको बस्तीमा विद्युत विस्तार गरिएको छैन ।

बस्ती बसेको ५ वर्ष वितिसक्दा पनि बस्तीमा आधारभूत आवश्यकताको बिजुली पूर्वाधारको समेत व्यवस्था गरिएको छैन । सोलारबाट घरघरमा बल्ब बाल्नका लागी सोलार प्यानल जडान गरिएको भए पनि त्यो पर्याप्त नभएको उनीहरुले बताएका छन् ।

घाम उदाएपछि मात्र सोलारबाट बल्ब बल्ने अन्यथा दियो बालेर बस्नुपर्ने बाध्याता रहेको दलित बस्तीकी सविता रामले दुखेसो गर्नुभयो । सोलार प्यानल महिनैपिच्छे विग्रीने गरेको स्थानीय खेदनी देवी राम बताउनुभयो । चिसोे र बर्खायाममा बत्तीको अनुहार देख्नै नपाईने भन्दै गर्मीयाममा पंखा बिना घरमा बस्नै गाह्रो हुने गरेको उहाँले बताउनुभयो ।

दलित बस्तीका विसुनदेव साहले विद्युत विस्तार नहुँदा सञ्चारको पहुँचबाट टाढा हुनुपरेको बताउनु भयो । विजुलीको व्यावस्था नहुँदा मोबाईल, टर्चलाईट, रेडियो, टिभी जस्ता विद्युतिय उपकरण चलाउन र चार्ज गर्नबाट समेत आफुहरु बन्चित हुनुपरेको उनीहरुले वेदना पोखेका छन् ।

विद्युत मिटरका लागी ग्राहकले जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा), वडाको सिफारिस, २ प्रति फोटो र पैतृक सम्पत्ति भए नाता प्रमाणितको प्रतिलिपी दिनुपर्ने हुन्छ । तर ऐलानी जग्गामा बसोवास गरिरहेका सुकुमवासीको हकमा मिटर जडान गर्ने प्रकृया झन जटिल छ ।

नागरिकताको फोटोकपी, हालसालै खिचिएको २ प्रति फोटो, वडा कार्यालय वा गाउँपालिकाबाट सुकुम्वासी भएको प्रमाणपुर्जा र एक हजारदेखि १५ हजारसम्म धरौटी राख्नु पर्ने व्यवस्था रहेको नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले जनाएको छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले विद्युत प्राधिकरणसँग कुरा भएको र लगातार पहल भईरहेको दावी गर्नुभयो । निःशुल्क विद्युत मिटर जडानका लागि गाउँपालिकामा १४ सय जनाको निवेदन आएको बताउँदै वडा नम्बर ४ बाट मात्रै ४ सय दलित तथा अति विपन्न परिवारले निवेदन दिएको उहाँले जानकारी दिनुभयो ।

वडा कार्यालयले दलित बस्तीमा पोलको आवश्यकता भएको जानकारी गराएपछि विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रले आवश्यकता अध्ययन गरेर गएको उहाँको भनाई छ । बजेटको व्यवस्था नहुँदा पोल जडान गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रले जनाएको छ ।

दलित बस्तीमा कम्तिमा ४५ वटा पोलको आवश्यकता रहेको अनुमान छ । नेपाल सरकारबाट प्राधिकरणमा विद्युतिकरणको लागि आउने बजेट त्यहाँको लागि पर्याप्त नरहेको पोखरीया वितरण केन्द्रका निमित्त प्रमुख कुलदिप सदाले बताउनुभयो ।

पालिकाले बजेटमा सहयोग गरे पोल जडान गर्न सजिलो हुने सदाले बताउनुभयो ।


सम्बन्धित समाचार