Logo

१९ पुस,वीरगञ्ज । वीरगञ्जको गहवामा रहेको माईस्थान विद्यापीठ माविको कक्षा ९ र १० का विद्यार्थीहरुले एक दिन बिराएर अध्ययन हुने गरेको बताएका छन् ।

विद्यालयमा शिक्षक अभाव भएपछि एक दिन कक्षा ९ र अर्को दिन कक्षा १० को पठन पाठन हुने गरेको विद्यार्थीहरुले बताएका छन् । महानगरपालिकामा शिक्षक अभावका कारण एक दिन बिराएर कक्षा सञ्चालन भईरहेको हो । वीरगन्ज महानगरपालिकाले स्वयंसेवक शिक्षकलाई हटाएपछि सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएको छ ।

पूर्ण अंग्रेजी माध्यममा अध्यापन गराईने माईस्थान विद्यापीठमा कक्षा ९ र १० मा विद्यार्थीहरुको संख्या बढी भएको र शिक्षक अभावका कारणले दिन बिराएर कक्षा ९ र १० का विद्यार्थीहरुलाई पढाउनु परेको विद्यालयका प्रधानाध्यापक मुनीलाल कर्णले बताउनुभयो ।

विद्यार्थीहरुको परीक्षा नजिक आएको र पाठ्यक्रम पूरा गर्न सम्भव नहुने भएपछि एक दिन कक्षा ९ र अर्को दिन कक्षा १० का विद्यार्थीलाई पढाएर भएपनि कोर्स पूरा गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक कर्णले बताउनुभयो ।

विकल्पको रुपमा अहिले एक दिन ९ कक्षा र अर्को दिन १० कक्षाका विद्यार्थीहरुलाई पढाईरहेको र यसरी सम्भव नहुने भएपछि शिक्षकको व्यावस्था गर्न महानगरपालिकालाई अनुरोध गरिएको प्रधानाध्यापक कर्णले बताउनुभयो ।

आईतबारदेखि विद्यालयमा शिक्षकको व्यावस्था गर्ने आश्वासन पाएको र फेरी नियमित कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार