Logo

२२ पुस,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ रोगको नयाँ भेरिएन्टबारे मधेश प्रदेशसहित देशभर सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछि स्वास्थ्य मन्त्रालयले एक परिपत्र गर्दै मधेश प्रदेशसहित पर्साका सीमानाकामा सतर्कता अपनाउन स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको हो ।

यही १६ गते स्वास्थ्य मन्त्रालयले एक परिपत्र गर्दै छिमेकी देश भारतमा नयाँ भेरिएन्ट ‘जेएन वन’ देखिएको हुनाले सबै सीमानाकामा सतर्कता अपनाइ रोग नियन्त्रणमा आवश्यक पहल गर्न भनेको छ ।

मन्त्रालयले स्वास्थ्य कार्यालय पर्सासहित सबै स्थानीयहरुको नाममा परिपत्र गर्दै भनेको छ–,‘छिमेकी देश भारतमा नयाँ भेरिएन्ट ‘जेएन वन’ देखिएको छ, त्यसकारण सीमानाकामा रहेका सबै हेल्थ डेस्कले सतर्कता अपनाइ शंकास्पद विरामीको जाँच गर्नुहोला । जाँचको प्रभावकारी व्यवस्था मिलाइ प्रकोप रोक्न आवश्यक सबै व्यवस्थापन मिलाउनुहुन अनुरोध छ ।’

परिपत्रमा बीरगञ्ज हेल्थ डेस्कलाई निर्देशिका अनुसार प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ । यसको साथै बीरगञ्जमा रहेका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई नयाँ भेरिएन्टबारे जानकारी गराइ व्यवस्थापनका लागि आवश्यक तयारी गर्न भनिएको छ ।

एक साता अगाडि परिपत्र आएपछि नामका लागि हेल्थ डेस्कले काम गरिरहेको जन गुनासो छ । पछिल्लो समय सीमनाकामा कुनै प्रभावकारी जाँच नभइरहेको बताइन्छ ।

भारतमा नयाँ भेरिएन्ट देखेपछि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेपनि पर्साका अधिकांश सीमानाकामा भने मन्त्रालयको परिपत्रको बेवास्था गरिएको नागरिक समाजको अगुवाहरु बताउँछन् ।

कोभिड बारे परिपत्र


सम्बन्धित समाचार