Logo

२५ पुस,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोडिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा सँलग्न रहेको आरोपमा पक्राउ परेका सात जना जेल चलान भएका छन् । स्वर्णकारको हत्याको आरोपमा पक्राउ परेकी उनकी प्रेमिका भनिएकी राधा गुप्तासहित सातजनालाई अदालतले जेल चलान गरेको हो ।

जिल्ला अदालत बारामा कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दाको थुनछेक बहसमा अदालतले सात जनालाई जेल चलान गरेको अदालतका सुचना अधिकारी कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । बाँकी चार जना भने फरार रहेका छन ।

स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जना विरुद्ध गत पुस १६ गते कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो । गत पुस १७ गतेदेखि लगातार पेशीको क्रममा अदालतले मँगलबार सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायधिश शम्भु प्रसाद बरालको इजलासले उक्त मुद्दामा आरोपितहरु कलैया–६ की राधा गुप्ता, कलैया–२२ का प्रविण कुमार साह, सुवर्ण गाउँपालिका–८ का बिगु कुमार कानु, सुवर्ण गाउँपलिका–४ का चन्द्रिका प्रसाद यादव, रौतहटको मौलापुर नगरपालिका–६ बस्ने कौशल किशोर यादव, सन्तोष प्रसाद र अरुण कुमारलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको दाहालले बताउनुभयो ।

फरार हुनेहरुमा भारत बिहारका मनोज गुप्ता, चन्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने बिनोद राय यादव र बिशाल कुमार यादव रहेको तथा उनीहरु विरुद्ध अदालतले कानुन बमोजिम म्याद जारी गरेको उहाँको भनाइ छ । चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहदै आएका छन् ।

गत कात्तिक १३ गते कलैयामा दिउँसै गोली प्रहार गरी रुपेश स्वर्णकारको भारतीय सुटरहरुले हत्या गरी फरार भएका थिए । सोही दिन प्रहरीले उनकी प्रेमिका भनिएकी राधासहित केहिलाई पक्राउ गरेको थियो । तर मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चन्चल पाण्डेसहित चार जना फरार भएका थिए ।

बारा प्रहरीले सुजितलाई गोली प्रहार गरी बाराको विश्रामपुर गाउँपालिका–३ स्थित नेपाल–भारत सीमानाकाबाट गत पुस १० गते राति पक्राउ गरेको थियो । उनी हाल उपचाररत रहेका छन् ।


सम्बन्धित समाचार