![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/01/415300585_780219147436087_8168988273344420161_n.jpg?fit=2048%2C1152&ssl=1)
२६ पुस,जनकपुर । मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई विशेष संसदीय छानविन समितिले फेरी समय दिएको छ ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले आफुलाई सोधिएको प्रश्नावलीसहितका आरोपहरु नबुझेपछि उनलाई बुँदागतरुपमा उपलब्ध गराएर बुँदागतरुपमै जवाफ लिने भएको छ । भने अर्थमन्त्री संजयकुमार यादव भने माघ ३ गतेपछि लिखित जवाफ बुझाउने भएको छ ।
विशेष संसदीय छानविन समितिले केही साता अघि मन्त्रालयको शीर्षक अन्तर्गतको रकम जथाभाविरुपमा रकमान्तर गरेको भन्दै के, कति, कारणले रकमान्तर गरी अनियमितता भए नभएको भन्दै अर्थमन्त्री संजयकुमार यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई सोधपुछका लागि बोलाएको थियो ।
तर अर्थमन्त्री संजय कुमार यादवले भने आफु माघ ३ गतेसम्म व्यस्त रहेको जानकारी विशेष संसदीय छानविन समितिको बैठकमा उपस्थित भएर बताएका थिए ।
त्यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बुँदागतरुपमै आफुलाई प्रश्नहरु उपलब्ध गराउन आग्रह गरेपछि उनलाई पनि बुँदागतरुपमा प्रश्न उपलब्ध गराउने भएको छ ।
विशेष संसदीय छानविन समितिका सभापति उपेन्द्र महतोले अर्थमन्त्री माघ ३ गतेसम्म व्यस्त रहने भनेपछि उनलाई माघ ४ गतेसम्ममा लिखित जवाफ उपलब्ध गराउन निर्देशन दिएको बताए । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई समेत बुँदागतरुपमा प्रश्नहरु उपलब्ध गराउने उनले बताए ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले भने आफुलाई के कति सम्बन्धि सोधिएको छ, सोबारेमा आफु असमञ्जसमा परेको भन्दै उनले आग्रह गरेपछि उनलाई बुँदागतरुपमै रकमान्तरसहितका बारेमा स्पष्टीकरण सोध्ने सभापति महतोले भने ।
आर्थिक वर्ष ०७९/०८० को मसान्तमा आएर जथाभावीरुपमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको शीर्षकसहितको रकम अर्थ मन्त्रालय मार्फत रकमान्तर गरेर अनियमितता गरेको देखिएको भन्दै अर्थमन्त्री यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री यादवमाथिसमेत छानविन गर्नका लागि विशेष संसदीय छानविन समिति नै गठन गरिएको हो ।