Logo

२७ पुस,वीरगञ्ज । बचतकर्ताहरुको पैसा फिर्ता नगरेको भन्दै बीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध प्रदर्शन गरिएको छ ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुले जम्मा गरेको पैसा फिर्ता नदिँदा पीडितहरुले बीरगञ्जमा शान्तिपूर्ण विरोध जुलुस निकालेका छन् ।
बीरगञ्जको टिबडेवाल धर्मशालादेखि निकालिएको जुलुस नगरपरिक्रमा गर्दै घण्टाघरमा पुगेर समापन भएको थियो ।

सानो पाइला बचत तथा सहकारी पिडित संघर्ष समितिले बचतकर्ताहरुको करोडौं रुपैया फिर्ता नगरेको भन्दै जुलुस निकालिएको बताइन्छ ।
बचतकर्ताहरुले जम्मा गरेको पैसा माग्न थालेपछि सानो पाइलाका कर्मचारी सम्पर्कविहिन भएको पीडित संघर्ष समितिले जनाएको छ ।

पैसा तिर्न कोही पनि सम्पर्कमा नआएपछि महानगरपालिकालाई आग्रह गरेर शीलबन्दी गर्न लगाइएको एक पीडितले जनाए ।
उनका अनुसार त्यसपछि हामीले संस्थाविरुद्धको कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौ ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा धेरै मुद्दा परेको पर्सा प्रहरीले जनाएको छ । बचतकर्ताहरुको पैसा फिर्ता गराउने हिसाबले सानो पाइलाविरुद्ध मुद्दा दर्ता भइ कानुनी प्रकिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए । उनका अनुसार मुद्दा दर्ता भएकाहरुलाई खोजी कार्य समेत भइरहेको छ ।


सम्बन्धित समाचार