Logo

२७ पुस,वीरगञ्ज । मालपोत कार्यालय पर्साका चार जना कर्मचारीहरु भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । कार्यालयका तत्कालिन दुई जना प्रमुख, नायब सुब्बा र एक जना लेखापाल गरि चार जना कर्मचारीहरु दोषी ठहर भएका हुन् ।

मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश प्रसाद पोखरेल, गम बहादुर विश्वकर्मा, नायव सुब्बा मदन प्रसाद गुप्ता, लेखापाल नागेन्द्र प्रसाद चौधरीलाई बिशेष अदालतले भ्रष्टाचार मुदामा दोषी ठहर गरेको हो ।

भ्रष्टाचार मुदाको सुनुवाई गर्दै अदालतका न्यायाधीश टेक नारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गएको बुधबार चारैजनालाई दोषी ठहर गरेको हो । अदालतले दोषी ठहर गर्दै चारैजनालाई सजाय निर्धारणको लागि पेश गर्ने आदेश दिएको हो ।

मालपोत कार्यालयमा रकम हिनामिना गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ साल चैत २८ गते चारैजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो । अख्तियारले उनीहरुले मालपोत कार्यालयमा आर्थिक बर्ष २०७२÷७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियम अनुसार दाखिला नगरी हिनामिना गरेको पाइएको थियो ।

विभिन्न मितिमा जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको पाइएको अख्तियारले जनाएको थियो ।
अख्तियारले तत्कालीन कार्यालय प्रमुख प्रकाश प्रसाद पोखरेल बिरुद्ध ९३ लाख ६६ हजार २०९, तत्कालीन कार्यालय प्रमुख गम बहादुर विश्वकर्मा बिरुद्ध एक लाख ४१ हजार ८२५ रुपैया बिगो माग गर्दै भ्रष्टाचार मुदा दायर गराएको थियो ।

यसैगरि कार्यालयका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्र प्रसाद चौधरी बिरुद्ध जनही ९५ लाख ८ हजार ३४ रुपैयाँ विरुद्ध ९५ लाख ८ हजार ३४ रुपैया बिगो माग गरिएको थियो ।


सम्बन्धित समाचार