Logo

२८ पुष, वीरगञ्ज । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध रुपमा नेपाल भित्रिएका चाँदीका तयारी गरगहना नियन्त्रणमा लिन थालेपछि तस्करीमा संलग्न व्यवसायीहरु गुहार माग्दै राष्ट्र बैकको गभर्नर कहाँ पुगेका छन् ।

सोमबारमात्र करिब ४७ केजी चाँदीका गरगहनासहित ३ जनालाई नियन्त्रणमा लिएपछि सुनचाँदी व्यवसायी संघले सुन र चाँदीको आयात खुल्ला गर्न माग राख्दै गभर्नरलाई ज्ञापन पत्र बुझाएका छन् । भंसार तिरेर ल्याएको भन्दा सय गुणा बढी चाँदीका गरगहना बजार उपलब्ध छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला हुन नसक्दा चोरी तस्करी भएर आएको सामान किन्न बाध्य हुनुपरेको जनाएको छ । पछिल्लो समयमा प्रहरीले तयारी गहनामा छापा मार्न थालेपछि व्यवसायी अप्ठारोमा परेको महासंघको भनाई छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको प्रतिनिधीमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग यस्तो आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकले विगत दुई बर्ष देखि चाँदी खरिदमा एक पटकमा ६० हजार डलरसम्मको सीमामा रहेर आयात गर्न पाउने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रण गरेपनि चाँदी चोरी तस्करी भएर नेपाल आउने गरेको छ ।

शाक्यका अनुसार नेपालको बजारमा बार्षिक न्यूनतम २ लाख किलो चाँदीको कारोवार हुदै आएको छ । व्यासायीहरुले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्न केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको बताएका छन् ।

तीन बर्षअघि बार्षिक १ लाख ६७ हजार किलो चाँदी भंसारमा राजश्व तिरेर नेपाल भित्रिएको थियो । तर गत बर्ष २८ हजार किलो चाँदी मात्र बैधानीक मार्ग हुदै नेपाल भित्रिएको भंसार कार्यालयको तथ्यांकबाट प्रष्ट हुन्छ ।

सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको भनाई अनुसार नेपालमा बार्षिक रुपमा न्यूनतम २ लाख किलो चाँदीको कारोवार हुन्छ । । नेपाल राष्ट्र बैकले दुई बर्षदेखि चाँदीको आयातमा नियन्त्रण गरेपछि नेपाली बजारमा भारतबाट अवैध मार्ग हुदै चाँदीका तयारी गरगहना र कच्चामाल भित्रिने गरेको व्यवसायीहरुको भनाई छ ।

सुनचाँदी तस्करीमा राष्ट्र बैकका उच्चपदस्थ अधिकारीको संलग्नता !

सुनचाँदीको कारोबारमा संलग्न व्यवसायीहरु फाइदा हुनेगरी नेपाल राष्ट्र बैकले दुई बर्ष देखि सुन र चाँदीमा कोटा सिस्टम लगाएको छ । सरकारलाई अबौं रुपियाँ नोक्सान हुनेगरी चोरी तस्करीलाई बढवा दिने उदेश्यले नेपाल राष्ट्र बैकले सुन र चाँदीमा लगाएको नियन्त्रण अझै खुला गरेको छैन ।

नेपाल राष्ट्र बैकले जारी गरेको सूचनामा संचिती मुद्धा अहिले सम्मकै उच्च रहेको भनि रहदा सुन र चाँदीको आयातमा किन नियन्त्रण गरिरहेको छ त ? गम्भिर प्रश्न नेपाल राष्ट्र बैकका उच्च तहका अधिकारी माथि उब्जीएको छ । सुनचाँदी संघका पदाधिकारीहरु सुन र चाँदीको अवैध कारोवारमा संलग्न छन् । उनीहरुले आफ्नो फाइदाको लागि राष्ट्र बैकका अधिकारीहरुलाई समेत संलग्न गराएको आरोप अन्य व्यासायीहरुको छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई असफल पार्नको लागि राष्ट्र बैकका गभर्नर समेत लागेको हुन सक्ने साना व्यवसायीको भनाई छ । सुनचाँदी व्यवसायीका पदाधिकारीको स्वार्थ पुरा हुनेगरी नेपाल राष्ट्र बैकका उच्च तहका अधिकारीले भूमिका खेल्ने गरेको आरोप उनीहरुको छ । चाँदीमा मात्र नेपाल सरकारलाई बार्षिक २ अर्ब राजश्व घाटा भएको छ ।

बैधानीक रुपमा सुनचाँदीको कारोवार नहुदा हुण्डीको कारोवार बढने र नेपाली पैसा चोरी मार्ग भएर बाहिने गरेको व्यवसायीको बुझाई छ । उनीहरुको अनुसार नेपाली बजारमा चाहिने सुन र चाँदी उपलब्ध छ तर बैधानीक रुपमा भंसारबाट आएको देखिदैन ।

पाँच बर्षको तथ्यांकले के देखाउँछ ?

नेपाल राष्ट्र बैकको एक तथ्यांक अनुसार भंसारमा राजश्व बुझाएर आर्थिक बर्ष २०७५/०७६ मा २ लाख ८८ हजार ४५५ किलो चाँदी नेपाल भित्रिएको थियो । उक्त परिमाण बराबरको चाँदीको भंसार मूल्यांकन १६ अर्व ८ करोड ६३ लाख ६३ हजार रहेको थियो । त्यस बर्ष चाँदी आयातबाट नेपाल सरकारले १ अर्व ६१ करोड ५३ लाख ७४ हजार राजश्व उठाएको थियो ।

त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ मा ९ अर्ब ४९ करोड ३० लाख ८० हजार मूल्य बराबरको १ लाख ४४ हजार २०३ किलो चाँदी नेपाल भित्रिएको छ । चाँदीको पैठारीबाट ९७ करोड १२ लाख ६७ हजार भंसार राजश्व असुल भएको देखिन्छ ।

आर्थिक बर्ष २०७७/०७८ मा ९अर्व ८८ करोड २२ लाख १३ हजार मूल्य बराबरको १ लाख ७ हजार २११ किलो चाँदी पैठारी भएर आएको छ । उक्त परिमाणको चाँदी आयात गर्दा भंसार राजश्व बापत ९१ करोड १३ लाख १ हजार उठेको भंसार कार्यालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसरीनै आर्थिक बर्ष २०७८/०७९ मा १५ अर्ब ९४ करोड ९४ लाख ३७ हजार मूल्य बारबरको १ लाख ६७ हजार ७११ किलो चाँदी वैधानीक मार्ग हुदै नेपाल भित्रिएको थियो । उक्त चाँदीको पैठारीबाट २ अर्ब ५१ करोड ७५ लाख ९२ हजार राजश्व संकलन भएको थियो ।

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा नियन्त्रण गर्दै नयाँ नीति ल्याएपछि चाँदी अवैध मार्ग हुर्दै नेपाल भित्रिन थालेको हो । गत आर्थिक बर्ष २०७९/०८० मा २ अर्ब ७३ करोड ४ लाख २ हजार मूल्य बरावरको २८ हजार ३७५ केजी चाँदी भंसार तिरेर नेपाल भित्र्याइएको छ । यसबाट नेपाल सरकारलाई ३२ करोड ६८ लाख ८० हजार रुपियाँ राजश्व संकलन भएको देखिन्छ ।

चालु आर्थिक बर्ष २०८०/०८१ को असोज मसान्त सम्म ८ हजार ६२१ केजी मात्र भंसार हुर्दै नेपाल पैठारी भएको छ । यो अवधिमा भंसार कार्यालयले १२ करोड ८५ लाख २१ हजार राजश्व उठाएको छ ।

चाँदीको कारोवारबाट बार्षिक अढाई अर्ब राजश्व उठाउदै आएको सरकारले चाँदीमा कोटा प्रणाली लागु गरेपछि झण्डै ८५ प्रतिशत राजश्व गुमाउदै आएको छ । नेपाली बजारमा अहिले पनि चाँदीका गर–गहनार भाडाहरुको माग तीन बर्ष अघिको तुलनामा देखिएको व्यवसायीहरुको भनाई छ ।

प्रहरीको संरक्षणमा चाँदी तस्करी ?

खुला सीमानाकाको फाइदा उठाउदै तस्करहरुले ठूलो परिमाणमा अवैधरुपमा चाँदीको तस्करी गर्दै आएका छन् । मधेसका सीमा क्षेत्रमा खटीएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा अवैध मार्ग भएर चाँदी आउने गरेको व्यवसायीहरुको भनाई छ ।

गत सोमबार मात्र उपत्यका अपराध महाशाखाले बारा र पर्साका दुई व्यक्तीलाई ४७ केजी तयारी चाँदीका गहना सहित पक्राउ गरेको छ । उपत्यका प्रहरीले बारा कलैया १० निवासी कामेश्वर शाह, बाराकै विश्रामपुर गाउँपालिका मनिष सर्राफ र पर्सा बीरगञ्ज ३ निवासी सुमन कुमार सर्राफलाई पक्राउ गरेको हो ।

चाँदीका गहना चोरी मार्ग हुदै नेपाल भित्रिएको सूचना प्रहरीलाई छ तर उसले रोक्न चाहदैन् । वीरगञ्जका एक व्यवसायीका अनुसार प्रहरीकै संरक्षणमा चाँदी भारतका विभिन्न नाकाबाट नेपाल आउने गरेको छ ।

अहिले पनि दिनहुँ ठुलो परिणाममा चाँदीका गहना भारतबाट चोरी मार्ग हुर्दै आउने गरेको र नेपालबाट सुन भारत तर्फ जाने गरेको छ । तस्करहरुले बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका विभिन्न नाका प्रयोग गरेर सुन र चाँदीका सामान ओसारपोसार गर्दै आइरहेको व्यावसायीहरुको भनाई छ ।

बार्षिक २ अर्ब राजश्व घाटा

नेपाल राष्ट्र बैकले कुनै एउटा आयातकर्ताले एकपटकमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद«ाको सटही सुविधा लिनेगरी चाँदी आयात गर्न पाउँने व्यवस्था गरेको छ ।

जसले गर्दा एउटा आयातकर्ताले प्रति पटक जम्मा ६० के.जी. सम्म आयात गर्न सक्नेछ । नेपालमा चाँदी आयातकर्ताहरुको सँख्या ७ देखि ९ सम्म रहेको छ । जसले गर्दा अहिलेको माग अनुसारको चाँदी आयात हुन नसकेकोले धेरै चाँदीका गरगहना र सजावटका सामानहरु बनाउने उद्योग तथा कारखानाले नियम विपरित विभिन्न विचौलियाहरुबाट चाँदी किन्न बाध्य भएको बताउदै आएका छन् ।

बजारको माग अनुसार चाँदी वैधानीक मार्ग भएर आउन नसक्दा राज्यलाई बार्षिक २ अर्ब राजश्व घाटा भएको छ । सरकारको नीतिले अहिले बार्षिक २८ हजार किलो मात्र नेपालमा चाँदी आउने गरेको छ । जवकी नेपालको बजारमा अहिले पनि चाँदीको माग बार्षिक झण्डै डेढ लाख किलो छ ।

तस्करीमा सुनचाँदी संघका पदाधिकारी संलग्न

व्यवसायीक हितका लागि काम गर्ने उदेश्यले बनेका सुनचाँदी व्यवसायीका पदाधिकारीहरु सुन र चाँदीको तस्करीमा संलग्न हुनेगरेको साना व्यवसायीहरुको आरोप छ । संघका पदाधिकारीहरु नै नेपालबाट भारत तर्फ सुन र भारतबाट नेपालमा अवैध मार्ग भएर चाँदीका गरगहना एवं चाँदीबाट बनेका समान ल्याउने गरेको आरोप साना व्यवसायीहरुको छ ।

पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष समेत रहेका न्यू अभिषेक ज्वेयलर्सका संचालक भूलन सोनारको नाउँ सुनचाँदीको चोरी तस्करीमा आउने गरेको छ । बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिव सरार्फ समेत ६० किलो सुन काण्डमा जेल चलान भएका छन् ।

संघका अध्यक्षहरुले सुनचाँदी साना व्यवसायीलाई दिने नियम बनाइएकोले पनि उनीहरुले अवैध मार्गबाट माल झिकाएर व्यवसायीहरुलाई वितरण गर्दै आएको एक व्यवसायीले बताए । भूलनले नेपालबाट भारत तर्फ सुन तस्करी गराउने र भारतबाट चाँदी ल्याउने गरेको आरोप उनीमाथि छ । तर उनले भने सरकारले चाँदी आयातमा नियन्त्रण गरेकोले चोरी मार्गभएर सुन चाँदीको कारोवार हुने गरेको बताउछन् ।

समाचार स्रोतका अनुसार वीरगञ्जका सुनचाँदी व्यवसायी अभिषेक सरार्फको नाउँ समेत चर्चामा छ । अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्पm ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट अभिषेकले कारोवार गर्ने गरेको स्रोतको भनाई छ ।

त्यसैगरी वीरगञ्जका शंकर साह सोनारले सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, वीरगञ्जकै सन्दीप सरार्फले माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत भएको कारोवारलाई समेत प्रहरीले निगरानी गरेको स्रोतको भनाई छ ।

वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन ।

जनकपुरका सुनचाँदी व्यवसायी धिरज साह, सञ्जय साह सोनार, दीपेन्द्र साह र प्रदीप साह सोनारको नाउँ सुनचाँदीको अवैध कारोवारमा संलग्न रहने व्यवसायीको सूचिमा रहेको स्रोतको भनाई छ ।

जनकपुरका धिरज साहले डिएस इन्टरनेशनल, जनकपुर गोल्ड सप, न्यू शिवगंगा ज्वेलर्सको नाउँबाट कारोवार गर्दै आइरहेको प्रहरी स्रोतको भनाई छ । जनकपुरकै संजय साह सोनारले दिना ज्वेलर्स, माला ज्वेलर्स र श्री ज्वेलर्स कम्पनीको नाउँबाट सुनचाँदीको अवैध कारोवार गर्दै आइरहेको स्रोतले जनाएको छ ।

त्यसैगरी जनकपुरका दीपेन्द्र साहले लक्ष्मी दीप टेड्रस, सिन्जीनी मार्कन्डीस, श्री शुभांग इन्टरनेशनल र सुन्दर ज्वेलर्स प्रालीको नाउँमा सुनचाँदीको कारोवार गर्दै आएका छन् । प्रदीप साह सोनारले लिला ज्वेलर्स र श्री जानकी ज्वेलर्सका नाउँमा कारोवार गर्दै आएको बुझिएको छ ।


सम्बन्धित समाचार