Logo

२९ पुस,वीरगञ्ज । बीरगन्जका मेयर राजेशमान सिंह विरुद्ध आइतबार पनि बीरगन्जमा प्रदर्शन भएको छ । फर्जीको विवरणको आधारमा अरुको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै आज पनि बीरगन्जमा प्रदर्शन भएको छ ।

महानगरको वडा नम्बर ३ ले झुटो विवरण बनाएर नागरिकता दिलाएको भन्दै सचेत नागरिक समाज बीरगन्जले वडा कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

वडामा प्रदर्शन गर्नुको साथै पर्साका सीडीओलाई ज्ञापनपत्र समेत बुझाइएको छ । भुटो विवरण पेस गरी अरुको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय समितिले ज्ञापन पत्र बुझाएको छ ।

क्षेत्रीय सचिव रञ्जित पटेलले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

क्षेत्रीय सचिव पटेलले २ जनाविरुद्ध परेको जाहेरीमा अनुसन्धान गरी चाडो भन्दा चाडो कारबाहीको माग गरेको क्षेत्रीय समितिले जनायो ।

बीरगन्जका मेयर राजेशमान सिंह र रुविना श्रेष्ठविरुद्ध गएको मंगलबार जाहेरी परेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ज्ञापनपत्र बुझ्दै चाडो भन्दा चाडो कानुनी प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले भने,‘यो प्रकरणमा सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ, सबै विषयलाई गम्भीरताका साथ केलाइदैछ । केही समयमै नतिजा आउने गरी काम भइरहेको छ ।’

यसैबीच दोहोरो नागरिकताबारे छानविनको माग गर्दै आजै प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

राष्ट्रिय बजरंग दल र नेपाल विश्व हिन्दू महासंघले दोहोरो नागरिकताको छानविनका लागि टोली गठन गर्न प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग माग गरेका हुन् । जगत गुरु राजेन्द्र सहनीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुसालले आज गृहमन्त्रालयमा सबै कागजात पठाइदिने आश्वासन दिए ।


सम्बन्धित समाचार