Logo

१ माघ, वीरगञ्ज । पुर्पक्षका लागि कारागारमा रहेका भारतीय अपराधीलाई छुटाई दिने प्रलोभन दिएर पैसा ठगी गरेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बाराको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय अपराधीलाई छुटाई दिन्छु भनेर करिव २ लाख रुपियाँ लिएका बारा महागढीमाई नगरपालिका वडा नंं १ का २३ बर्षिया श्यामबाबु साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार, साहले रुपेश सरार्फको हत्यामा संलग्न सुजित सिंहलाई छुटाउन अदालत र प्रहरीलाई मिलाउनु पर्छ भनेर उनका बुबा जयमंगल सिंहसंग १६ लाख रुपैयाँ मागेका थिए । त्यसमध्ये साहले जयमंगलसंग १ लाख ९२ हजार दिएका थिए ।

सुजित सिंहका बुबा जयमंगलले जिल्ला प्रहरी कार्यालय बारामा श्यामबाबु साह विरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा साहलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका साह विरुद्ध ठगी तथा अपराधिक विश्वासघात सम्वन्धि मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काफ्लेले जानकारी दिए।

शिक्षक स्वर्णकारको गोली हानी हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई पुष १० गते भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट पक्राउ गरेको बारा प्रहरीले यसअघिनै जनाएको छ ।

स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्वर्णकारकी प्रेमिका राधा गुप्ता र सुटर सिंहसहित सात जनालाई बारा जिल्ला अदालतले पुष २५ गते नै पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो।

पुस १७ गतेदेखि लगातार पेसीको क्रममा अदालतले पुष २५ गते सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो।

हत्यामा संलग्नमध्येका भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव भने अझै पक्राउ पर्न सकेका छैनन्।यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन्।गत कात्तिक १३ गते कलैयामा दिउँसै गोली प्रहार गरी रुपेश स्वर्णकारको भारतीय सुटरहरुले हत्या गरी फरार भएका थिए ।


सम्बन्धित समाचार