Logo

२ माघ,वीरगञ्ज । वीरगञ्जमा भईरहेको नेशनल इन्फोटेक कप क्रिकेट टुर्नामेन्टमा आज पनि दुई खेल सम्पन्न भएका छन् । आज हेटौँडा स्कुल र वीरगञ्ज कलेज तथा ग्यान्दा एकेडेमी र आयोजक नेशनल कलेजबिचको खेल सम्पन्न भएको हो । खेलमा हेटौँडा स्कुल र आयोजक नेशनल बिजयी भएका छन् ।

आज भएको पहिलो खेलमा हेटौँडा स्कुलले वीरगञ्ज कलेजलाई ७२ रनले हराएको हो । नारायणी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको हेटौँडाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

उसका लागि ज्यानेन्द्र कुशवाहाले सर्वाधिक ६२ रन बनाए । यस्तै साहेब यादव ४३ र गौरव श्रेष्ठले २० रन जोडे । वीरगञ्ज कलेजका मुकेश कुमार साहले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वीरगञ्ज १८ ओभर ५ बलमा पूरै विकेट गुमाएर ९१ रनमै समेटियो । उसका लागि अरुण साहले १३ र आकाश यादवले १२ रनको योग दिए ।

बलिङतर्फ प्रञ्जल उपाध्यायले सर्वाधिक ५ विकेट लिए । यसैगरि बिकेश दास र राजा अहमदले समान २÷२ विकेट लिए ।

यस्तै आजै सम्पन्न दोस्रो खेलमा आयोजक नेशनल बिजयी भएको छ । नेशनलले ग्यान्दालाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको नेशनलले पूरै ओभर खेलेर ३ विकेट गुमाउँदै १ सय ७१ रन बनायो ।

नेशनलका लागि राहुल महतोले ६५ रनको योगफल बनाए । यस्तै सफवान अलिले ६४ रन जोडे । राहुल हकले १९ रन बनाए । बलिङतर्फ ग्यान्दाका फैजल अजाम र प्रवेज आलमले समान १ ÷१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको ग्यान्दा १६ ओभर ३ बलमै सबै विकेट गुमाएर ६४ रनमा समेटियो । उसका लागि धिरज पटेलले १२ र सुमित कुमार पटेलले ११ रन बनाए । बलिङमा सलमान मन्सुरीले ३, असबाबले २ र अरबाज हुसेनले २ विकेट लिएका थिए ।

आजको खेलमा हेटौँडाका ज्यानेन्द्र कुशवाहा र नेशनल इन्फोटेकका सफवान अलि म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार