Logo

२ माघ,वीरगञ्ज । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन गठबन्धन दल एकमत भएका छन् । वीरगन्जमा मंगलबार आयोजना गरिएको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा गठबन्धनका उम्मेदवारलाई जिताउन एकमत भएका हुन् ।

वीरगन्जको होटल पुजनमा आयोजना गरिएको कार्यक्रममा मधेस प्रदेशबाट गठबन्धन दलका उम्मेदवार नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना र जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरीलाई जिताउन जनमत बाहेकका गठबन्धन दल एकमत भएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

बैठकमा गठबन्धन दलले जनमत पार्टीप्रति चाहिँ असन्तुष्टि व्यक्त गरेको छ । सरकारमा गठबन्धन गरेपनि राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार उठाएर गठबन्धनलाई भत्काउन खोजेको बताएका छन् ।

राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति पर्साका संयोजक तथा नेपाली कांग्रेस पर्साका सभापति सांसद जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका उम्मेदवार आनन्द प्रसाद ढुंगाना, पूजा चौधरी, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेश अध्यक्ष कृष्णा यादव, मधेस मधेसका वन तथा वातावरण मन्त्री रमेश कुर्मी, जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर अध्यक्ष मनोज चौधरी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य प्रभाकर गुप्ता, लोसपाका जिल्ला अध्यक्ष पूरुषोत्तमलाल झा, मधेस प्रदेशसभाका सांसद शंकर चौधरी, श्याम पटेल, पर्साका स्थानीय तहमा निर्वाचित गठबन्धन दलका प्रमुख तथा उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार