Logo

३ माघ,जनकपुर । मधेस प्रदेशमा एकै समयमा प्रदेश सरकार र सरकार इतरका दलहरुले आ–आफ्नै ढंगले स्वाभामिन दिवस मनाएको छ ।

मधेश प्रदेश सरकारले स्वाभिमान दिवस मनाउने निर्णय गरे पनि सत्तागठबन्धन र प्रमुख विपक्षी दलले भने संयूक्तरुपमा कार्यक्रम गरेको छ ।

मधेश प्रदेश सरकारले जनकपुरधाम स्थित महेन्द्रनारायण निधि संस्कृत केन्द्रमा मनाइरहँदा जनता समाजवादी पार्टी नेपाल इतरका सत्तागठबन्धन नेकपा माओवादी केन्द्र, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र प्रमुख विपक्षी नेकपा एमाले एकै ठाउँमा मधेश सरकारलाई रचनात्मकरुपमा काउन्टर दिदैँ प्रदेशसभामा सांकेतिकस्वरुप मधेश स्वाभिमान दिवस मनाएका हुन् ।

गठबन्धन दलमध्येका घटक दल जनमत पार्टीका संसदीय दलका नेतासमेत रहेका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मुख्यमन्त्री सरोजकुमार यादवले हैकमवाद दाल्न चाहेकाले फरकढंगले समर्थनसहितको बेग्लै कार्यक्रम गरी मनाएको घुमाउरो पारामा प्रतिक्रिया दिए ।

उनले गठबन्धनको सरकारमा कोही पनि कसैको आशीर्वादले सरकारमा सहभागी नभएको बताउँदै मन्त्री यादवले सरकारमै बसेर सरकारको सही वा गलत काम गरेको भनेर भन्न आँट सबैमा हुनुपर्ने बताए ।

उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा नबोलाउने, नसिध्ने, नभन्ने अनि आफै मनमा जे जेआउँछ, त्यो त्यो गर्ने प्रवृत्ति मौलाउँदै जानु अत्यन्त खतरनाक हो ।’ उनले अघि थप्दैँ भने, ‘त्यसको विरोधमा सरकारमा बसेर पनि गर्नुपर्छ । गुलामी मानसिकताले सरकारमा बस्नुको औचित्य छैन, जनताको सरकार हो र जनताप्रति कर्तव्यबोध हुनुपर्छ ।’

त्यस्तै नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले एकै दलको कारण प्रदेशको नामकरण गर्न सकेको जस्तो झल्को दिने गरी गरेको कार्यक्रमको स्वरुपको विरोध गरेको स्पष्ट पारे ।

उनले स्वाभिमान दिवस हरेक जिल्ला, निर्वाचन क्षेत्रदेखि स्थानीय तहसम्ममा मनाउनुपर्ने वातावरण नबनाई कुनै एक दलकै कारणले मधेश प्रदेश सम्भव भएको जस्तो दावी गरेर अन्य दललाई बाईपास गरेकाले सांकेतिकरुपमा मात्रै विरोध गरेको भने ।

संसदीय दलका नेता साहले छवटा प्रदेशले पहिचानको आधारमा नाम राख्न नसकेकोमा विरोधका स्वरहरु सुनिने क्रम चलिरहेको बेलामा पनि पहिचानसहितको मधेश प्रदेश नाम एकैस्वरमा राख्न सकेकोमा गर्व रहेको बताए ।

उनले भने, ‘छ वटा प्रदेशले पहिचान दिन सकेन, मधेश प्रदेशको प्रस्तावक माओवादीबाट म नै थिए, लोसपा समर्थक र सबै दलले त्यसमा समर्थन गरेको गरेपछि सहजैरुपमा सबैको साझा अनुभुति हुने गरी मधेश प्रदेश नामकरण सम्भव भएको थियो ।

उनले अघि थप्दैँ भने, ‘तर गठबन्धनको सरकारमा हामी पनि छौँ, यसलाई महसुस नै नगरी हामीलाई नै बेवास्ता गरेर मुख्यमन्त्रीजीले एक्लौटी गरेपछि वहाँको व्यक्तिगत प्रवृत्तिको विरोध गरेको बताए ।

उनले मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले सबैलाई मिलाएर अघि बढ्ने र सबैलाई निर्णयमा सहभागी गराउने र आउने दिनमा यस कार्यलाई सच्याउँछौ भनेपछि हामीले मधेश प्रदेश सरकारले गरेको कार्यक्रममा समर्थन रहेको बताए ।

प्रमुख विपक्षी दलका संसदीय दलका नेता सरोजकुमार यादवले कुनै एक व्यक्ति, एक दल, एक समुह विशेषको मधेश प्रदेश नभई सबैको साझा प्रदेश रहेकाले सबै मिलेर मधेश स्वाभिमान दिवस नमनाएकाले हामीले बेग्लैरुपमा स्वाभिमान दिवस मनाएको बताए ।

मुख्यमन्त्रीको पत्रकार सम्मेलनमा जनमतको विरोध

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक वर्षे उपलब्धि सार्वजनिक गरिरहँदा पत्रकार सम्मेलनमै सत्ता गठबन्धनकै घटक दलमध्येका जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ ।

एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरिरहँदा जनमतका कार्यकर्ताहरुले भने साइकलको भ्रष्टाचार गर्नेलाई कारवाही गर भन्दै विरोध प्रदर्शन गरेका थिए । जनमतका कार्यकर्ताहरुले ‘साइकल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरे ।

पत्रकार सम्मेलनमै विरोध भएपछि मुख्यमन्त्री यादवले ‘साइकल काण्ड मेरो पालामा नभएको र यसको छानविन भई नै रहेको जानकारी गराएका थिए ।
उनले आफ्नो एक वर्षे कार्यकालमा भएका विभिन्न उपलब्धिका २२ पृष्ठ विवरणसहित सार्वजनिक गरे ।


सम्बन्धित समाचार