Logo

४ माघ,जनकपुर । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्र नेपाली कांग्र्रेससंग विच्किएका छन् ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा माओवादीका नेता मातृकाप्रसाद यादव पराजित भएपछि कांग्रेसको व्यवहारप्रति असन्तुष्टि रहँदै आएका छन् ।

जसको परिणाम राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट मधेश प्रदेशमा कांग्रेस र जसपाका उम्मेदवारहरुसंग प्रचारप्रसारका लागि सक्रियतापूर्वक सहयोग नगरेको गुनासो गर्दै आएका छन् ।

सो क्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको निर्वाचनमा आफु पराजित भए पनि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको दावी गरे ।

बिहीबार जनकपुरधाम स्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सत्तागठबन्धनका आकांक्षी उम्मेदवारद्वय आनन्दप्रसाद ढुंगाना र पुजा चौधरीको जीत सुनिश्चित रहेको भन्दै पुर्वमन्त्रीसमेत रहेका नेता यादवले माओवादी गठबन्धनप्रति इमान्दरीपूर्वक प्रतिवद्ध रहेको बताए ।

माओवादीको संसदीय दलका कार्यालयमा ८ वटै जिल्लाबाट सहभागी भएका जनप्रतिनिधिहरुसंग नेपाली कांग्रेसका अन्य कोटाका उम्मेदवार ढुुंगना र जनता समाजवादी पार्टी नेपालकी नेतृ पुजा चौधरीसंगको परिचयात्मक कार्यक्रममा नेता यादवले भने, ‘प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको क्रममा आफ्नो जीत सुनिश्चितता रहँदासमेत आफुले हार बेहोर्नु परेको स्मरण गर्दै उनले मधेश प्रदेशमा आफ्ना गठबन्धनका उम्मेदवारहरुसंग माओवादीका नेता तथा कार्यकर्ताहरुले सक्रियतासाथ सहयोग नगरेको भनेर भन्नु होला, किनभने यस निर्वाचनमा जनताले नभई जनप्रतिनिधि र सांसदहरुले मतदान गर्ने भएकाले माओवादीको सम्पूर्ण मत गठबन्धनका उम्मेदवारलाई जाने भएकाले ढुक्क भएर अन्य दल तथा मतदातालाई रिझाउनु होला, हामी गठबन्धन र गठबन्धनका उम्मेदवारप्रति इमान्दर छौँ ।’

‘माओवादीका मतदातालाई भोजभतेरसमेत गर्नुपर्दैन, खानपानसमेत गर्नुपर्दैन, यसका लागि हामी आफै सक्षम छौँ’ नेता यादवले भने ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको बेलामा ओली आफैले गर्ने सहमती र कार्यान्वयनको बेला आफ्नै बोली फेर्ने प्रवृत्तिले प्रतिपक्षी रहेका कांग्रेससंग मिलेर अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार बनेकाले माओवादीको बोली, वचन र व्यहावर एकै किसिमको रहेको स्पष्ट पारे ।

उनले कार्यक्रममा उपस्थित रहेका जनप्रतिनिधि, प्रदेश सांसदहरुलाई निर्देशन दिदैँ गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि अन्य मतदातासंगसमेत मत माग्न र मत दिनका लागि निर्देशन दिए ।

कार्यक्रममा उपस्थित रहेका कांग्रेसका आकांक्षी उम्मेदवार ढुंगानाले आफु माओवादी र मतदाताप्रति मतका लागि विश्वस्त रहेको बताए ।
संविधान, संघीयता र मुलुक रक्षाका लागि अहिलेको गठबन्धनको सरकारसमेत रहेको बताउँदै आकांक्षी उम्मेदवार ढुंगानाले यही गठबन्धनको सरकारले आगामी पाँच वर्षसम्म सरकार चलाउने बताए ।

उनले अहिले संघीयता कार्यान्वयनका लागि प्रदेश प्रहरी ऐन र निजामति कर्मचारीसम्बन्धी विधेयक निर्माण तथा संशोधन गरी संघीयतालाई बलियो बनाउने तर्फ वर्तमान सरकार लागि परेको बताए ।

उनले सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनका लागि उम्मेदवार र गठबन्धनकोसमेत उतिकै महत्वपूर्ण भुमिका रहेकाले साथ, सहयोग र समर्थन अपरिहार्य रहेको बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन अवधिभर मधेश प्रदेशभरका जिल्लामा मतदाताहरु समक्ष प्रचारप्रसारसहित मत माग्नका लागि माओवादीको सक्रिय सहभागीको लागि उनले आग्रह गरेका थिए ।

माओवादीका मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा जसपाकी आकांक्षी उम्मेदवार चौधरीले गठबन्धनको उम्मेदवारलाई जिताउनका मतदान गरी जिताउनका लागि आग्रह गरिन् ।

यता नेकपा एमाले र जनमत पार्टीसमेत आ–आफ्ना उम्मेदवारलाई जिताउनका लागि मतदाताको घरदैलोमा गएर मत मागिरहेका छन् । भने जित्नका लागि विभिन्न रणनीतिहरुसमेत बनाइरहेका छन् ।

यही माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ ।


सम्बन्धित समाचार