Logo

६ माघ,जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनभित्र देखिएको तिक्ततालाई खेलाएर मत तान्ने दाउमा देखिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा जनमतले गठबन्धनलाई चुनौती दिदैँ गठबन्धन विरुद्धमा एक पदमा उम्मेदवार दिएपछि सत्ता गठबन्धनभित्रको असन्तुष्टिलाई ‘क्यास’ गर्दै मत तान्ने दाउमा लागेका एमालेले मधेश प्रदेशमा विशेष केन्द्रित भएको छ ।

सत्तागठबन्धनको विरुद्धमा दई वटा प्रदेशमा एक–एक पदमा उम्मेदवार खडा गरेपछि जनमतलाई पनि गठबन्धनबाट अघोषितरुपमा प्रचारप्रसार सामग्रीलगायतबाट हटाइएको छ ।

जनमतको स्थानमा राष्ट्रिय जनमोर्चालाई राखेर सातै प्रदेशमा सत्तागठबन्धनले आफ्नो उम्मेदवारहरुको प्रचारप्रसारमा जुटेका छन् ।
सत्तागठबन्धनमा मधेश प्रदेशमा बढी असन्तुष्टि देखेपछि एमालेले गुपचुपरुपमा जनमतका नेताहरुसंगसमेत कुराकानी गरिरहेका छन् । भने नेकपा माओवादी केन्द्रदेखि स्वतन्त्र प्रदेश सांसद र केही जनप्रतिनिधिलाई फकाउने भरपुर प्रयासमा लागेका छन् ।

एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानालाई लिएर माओवादीमा समेत असन्तुष्टि देखिएकाले उनीहरुसंग मत तान्नका लागि योजनावद्ध कामहरु भइरहेको छ भने जनमत, स्वतन्त्र सांसद र जनप्रतिनिधिहरुसंगसमेत आन्तरिक कुराकानी भइरहेको छ ।
एमालेले राष्ट्रिय सभाको रिक्त १९ वटै सिटमा उम्मेदवारी दिएको छ ।

एमालेले मधेश प्रदेशमा विशेष ध्यान केन्द्रित गर्दै आन्तरिकरुपमा आफ्नो कुनै एक उम्मेदवारलाई जिताउने भरपुर प्रयासमा लागिपरेका छन् ।
सत्ता गठबन्धनका दलले सबै सिट जित्ने मतभार देखिए पनि मधेश प्रदेशमा अप्रत्याशित नतिजा ल्याउन सकिने एमालेको दावी छ ।

तर मधेश प्रदेशमा समेत सत्तागठबन्धनको मतभार तलमाथि हुने सम्भावना नभएको दावी गर्दै आएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले प्रतिनिधिसभा सदस्यको निर्वाचनको क्रममा माओवादीका उपमहासचिव मातृकाप्रसाद यादवलाई हराउनमा मुख्य

भुमिका निर्वाह गरेकाले कांग्रेसबाट असन्तुष्ट रहेका माओवादीका जनप्रतिनिधि तथा प्रदेश सांसदको मत तान्ने योजना रहेको एमालेको विश्लेषण छ ।
तर माओवादीका नेता यादवले भने सत्तागठबन्धनबाहेकका उम्मेदवारको बारेमा हामीलाई कुनै किसिमको जानकारी नभएको बताउँछन् ।

उनले सत्तागठबन्धनको उम्मेदवारको जीत सुनिश्चित रहेकाले अन्य दलले भ्रम छर्नु स्वाभाविक रहेको बताए ।
मधेश प्रदेशमा एमालेबाट अन्य समूहबाट विजेता कुमारी झा र महिलातर्फ पर्साकी उषा चौधरी उम्मेदवार छन् ।

सत्तागठबन्धनको तर्फबाट अन्य समूहमा कांग्रेसका आनन्दप्रसाद ढुंगना र महिलातर्फ सर्लाहीका पुजा चौधरी उम्मेदवार छिन् ।
मधेशमा सत्तागठबन्धन र एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुनेछ ।

एमालेका तर्फबाट एमालेका सचिव योगेश भट्टराई, सचिव रघुवीर महासेठले समेत चासो राख्दै मधेश प्रदेशमा पार्टीको जनाधार बढ्दै गएको विश्लेषण गरेको छ ।
२०७९ वैशाखको स्थानीय र मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विगतको विरासत फर्काएको एमालेको विश्लेषण छ ।

राष्ट्रिय सभाको निर्वाचनका मतदाता स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख र प्रदेश सांसद भएकोले मधेशले नतिजा आफ्नो पक्षमा पार्नसक्ने एमालेको आकलन छ ।

मधेशमा १०७ प्रदेशसभा सदस्य र १३६ स्थानीय तह मध्ये २६७ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित कुल मतदाता ३७९ छन् । जसको कुल मतभार १० हजार ७४४ छ ।

एमालेको मधेशमा २ हजार ३०२ मतभार छ । त्यस्तै, जसपा, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपासहितको सत्तागठबन्धन दलसंग ७००१ मतभार रहेको छ ।

सत्ता गठबन्धनकै एक घटक जनमतले छुट्टै उम्मेदवार उठाएकाले एमालेले यसबाट लाभ लिनसक्ने एमालेले दावी गर्दै आएका छन् । मधेशमा जनमतको मतभार ७४३ रहेको छ । जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवले गठबन्धनको महिला समूहतर्फको उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।


सम्बन्धित समाचार