Logo

६ माघ,वीरगञ्ज । पर्सामा आजबाट प्याब्सन अन्तर विद्यालय नकआउट टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल वीरगञ्ज पर्साको आयोजनामा ८ औँ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु भएको हो । आदर्शनगर क्रिकेट रंगशालामा प्रतियोगिताको उद्धघाटन प्रमख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नुभएको हो ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेश विश्व विद्यालयका रजिस्ट्रार विजय यादव, एनप्याब्सन जिल्ला अध्यक्ष रामराज श्रेष्ठ, नारायणी एफएमका समाचार प्रमुख निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साउथ जोन माविका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महानगर अध्यक्ष आलोक चौरसियाले गर्नुभएको हो । प्रतियोगिताको सुरुवात अघि भएको मार्च पासमा मनकामना स्कुल पहिलो भएको छ ।

यस्तै मस्कोट एकाडेमी दोस्रो र एमइएस मावि तेस्रो भएको छ । २५ वटा विद्यालयले मार्चपासमा सहभागिता जनाएका थिए । प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन साउथ जोन बिजयी भएको हो । साउथ जोनले सेन्ट जेभियर्सलाई ९ विकेटले हराएको हो । टस जितेर ब्याटिङ गरेको सेन्ट जेभियर्स निर्धारित ओभरमा पूरै विकेटको क्षतीमा ८९ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको साउथ जोनले ८.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । खेलमा साउथ जोनका चन्दन राम म्यान अफ द म्याच घोषित भएका छन् । अहिले जारी दोस्रो खेलमा गौतम मावि र ज्ञानज्योति मावि खेल्दैछन् । दोस्रो खेल १५ ओभरको मात्रै हुने प्याब्सन पर्सा क्रिकेट संयोजक अमित आलोकले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाभरीका ३० वटा विद्यालयहरु सहभागिता रहेको छ । ३० वटै विद्यालयलाई समुह ए, बी, सी र डी गरी ४ समुहमा विभाजन गरिएको छ । प्रतियोगिता आयोजनाका लागि ७ लाख ८२ हजार ४५० बजेट छुट्याइएको आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार