Logo

६ माघ,वीरगञ्ज । माघ ८ अर्थात जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म रेल जाने भएको छ । परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावासमार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाउन लागेको बताइएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अयोध्या जाने रेलको टिकटको बुकिङसमेत खुलिसकेको जानकारी दिनुभयो । भोली आइतबार बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्ने उहाँले बताउनुभयो । सोका लागि आज राति भारतीय रेल जनकपुरधाम आइपुग्नेछ ।

महाप्रबन्धक झाका अनुसार जनकपुरधामबाट अयोध्याका लागि जाने रेलको भाडासमेत निर्धारण गरिएको छ । दोस्रो श्रेणीको एसीको ३ हजार, तेस्रो श्रेणीको एसीको २ हजार र स्लिपर सिटको १ हजार नेपाली रुपैयाँ निर्धारण गरिएको उहाँको भनाइ छ । तीर्थयात्रुहरुका कारण टिकटको मूल्य कम गरिएको झाले बताउनुभयो ।

भारतबाट आउने रेल आइतबार बिहान साढे ६ बजे अयोध्याका लागि छुट्नेछ भने सोमबार राति ११ बजे जनकपुरधामका लागि अयोध्याबाट छुट्नेछ । नेपाल रेल्वेलाई १ हजार ४ सयसम्म टिकट काट्ने अनुमति दिइएको छ । राम मन्दिर अयोध्यामा निर्माण भएपछि मधेस प्रदेशसहित देशैभरका नागरिक हर्षित छन् ।

पर्सा, बारासहित विभिन्न स्थानीय तहहरुले माघ ८ गते दिपावली मनाउन आग्रह गरेको छ । वीरगञ्ज महानगरपालिकासहित पर्सा बाराका पालिकाहरुले माघ ८ गते माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।


सम्बन्धित समाचार