Logo

८ माघ,वीरगञ्ज । दशकौंदेखि भूमाफियाले कब्जा गरेको वीरगञ्जको घडिअर्वा स्थित रामजानकी मन्दिरमा आज प्राण प्रतिष्ठा स्थापनाको भव्य तयारी गरिएको छ ।

भारतको अयोध्यामा नवनिर्मित श्रीराममन्दिरको उद्घाटन कै दिन आज वीरगञ्जमा पनि रामजानकी मन्दिरमा प्राण प्रतिष्ठा स्थापनाका भव्य तयारी गरिएको हो । प्राण प्रतिष्ठा स्थापना अघि वीरगन्ज महानगरपालिकामा कलस यात्रा गरिँदै छ ।

कलस यात्राका लागि जय श्रीराम लेखिएको झण्डा सहित भक्तजनहरु वीरगञ्जको घण्टाघरमा भेला भएका छन् । कलस यात्रा पछि दिउँसा पूजन विधिबाट प्राण प्रतिष्ठा गरिने र त्यसपछि प्रसाद वितरण गरिने कार्यक्रम रहेको वीरगञ्ज महागनरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाले महानगर वरिपरीका मठमन्दिरलाई सजाएर आकर्षक पारिएको छ । मुख्यबजार क्षेत्रका सडकहरुमा र घरघरमा ‘जय श्रीराम’ लेखिएको भगवा रंगको झण्डा र ध्वजापतका राखिएको छ । श्रीरामजानकी मन्दिरलाई महानगरपालिकाले हालै अतिक्रमणमुक्त गरी सौन्दर्यकरण गरेको हो ।

प्राण प्रतिष्ठाको दिन आज बिहान ८ बजे भव्य कलश यात्रा निकालिएको छ । आज दिनभर प्राणप्रतिष्ठाको सम्पूर्ण पूजन विधि हुने साथै सवालाख बत्तीबालिने र साँझ महाआरती गरेर प्रसाद वितरण गर्ने कार्यक्रम रहेको वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

श्रीरामजानकी मन्दिरमा आज हुने भगवान श्री राम, सीता र हनुमानको मुर्तिको प्राण प्रतिष्ठामा सहभागी हुन महानगरबासीलाई मेयर सिंहले सार्वजनिक आह्वान सहित व्यक्ति व्यक्तिलाई पनि निमन्त्रणा गर्नुभएको छ । बजार क्षेत्रका मुख्य मुख्य चोकमा श्रीरामकथा वर्णन सहितका चित्र कोरिएको भगवान श्रीरामको तस्बिर सहितका ठूला ठूलाब्यानर राखिएको छ । महानगरका हरेक घरघरमा आज साँझ दीयो बालेर दीपावली पनि मनाउने तयारी गरिएको छ ।

हिन्दुधर्मप्रति आस्था राख्ने हरेक व्यक्तिले श्रीराम, सीता र हनुमान सहितको झण्डाहरु राखेका छन् । शहरभरी श्रीरामको झण्डा र ध्वजापताका सहित झालर बत्तिले सजाईएको छ । यसले वीरगञ्जमा झण्डाको व्यापार पनि बढेको छ ।

झण्डाको व्यापकमाग बढेपछि मूल्यपनि बढेको छ । पहिले ३० रुपैंयामा पाईने झण्डा १५० रुपैंयासम्म विक्रीवितरण भएको छ । वीरगन्जमा रामजानकीमन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन आज वीरगन्ज आसपासका स्थानीय तहहरुमा माछामासु र मदिरा निषेध गरिएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, जगरनाथपुर, धोबिनी, कालिकामाई, पटेर्वासुगौली लगायतका गाँउपालिकाले सार्वजनिक सूचना नै जारी गरेर आज माछा, मासु र मदिराको बिक्रिवितरण र सेवनमा रोक लगाएको छ ।


सम्बन्धित समाचार