Logo

९ माघ,काठमाण्डौ । नेपालमा गाडी दुर्घटनाको मुख्य कारण चालकको लापर्बाही रहेको एक अध्ययनले देखाएको छ । ‘यातायात सुधार सुझाव कार्यदल’ को प्रतिवेदनअनुसार कुल गाडी दुर्घटनामध्ये ८८ दशमलव ३५ प्रतिशत चालकको कारणले दुर्घटना हुने गरेको छ । मानवीय कारणमा चालकको ज्ञान, सीप र क्षमता प्रमुख कारण हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार ४ दशमलव २० प्रतिशत दुर्घटना यात्रुका कारण हुने गरेको छ । यस्तै धेरैजसो सडकमा पेटी नबनाइएको, सडक अतिक्रमण गरी व्यापार–व्यवसाय सञ्चालन गरेका कारण दुर्घटना हुने गरेको छ ।

सडकको अवस्थालाई दुर्घटनाको अर्काे कारण मानिएको छ । प्रतिवेदनअनुसार ४ दशमलव १२ प्रतिशत दुर्घटना सडकको अवस्थाका कारण हुने गरेको छ ।

२ दशमलव ५९ प्रतिशत दुर्घटना गाडीको अवस्थाका कारण हुने गरेको प्रतिवेदनमा उल्लेख छ । गाडीको पुर्जा, ब्रेक, हर्न आदिको अवस्थाले दुर्घटना बढाउने वा घटाउने भूमिका खेलेको हुन्छ । गाडी निर्माणमा प्रयोग गरिने सामान गुणस्तरीय नहुँदा पनि दुर्घटनाको जोखिम बढ्ने गरेको छ ।

प्रतिवेदनअनुसार शून्य दशमलव ७४ प्रतिशत दुर्घटना मौसमको अवस्थाका कारण हुने गरेको छ । प्रतिवेदनले दुर्घटनापछिको व्यवस्थापनमा ध्यान दिन पनि भनेको छ । दुर्घटनापछि आकस्मिक उपचार सेवा र घाइतेलाई उद्धार गरी अस्पताल पु¥याउने व्यवस्थालाई प्रभावकारी बनाउन सुझाव दिएको छ ।

प्रतिवेदनले नेपालमा दुर्घटनाबाट हरेक दिन औसत ८ जनाको ज्यान जाने गरेको देखाएको छ । दुर्घटनामा मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै ५० दशमलव ७२ प्रतिशत छ ।

यातायात क्षेत्रको अवस्थाबारे अध्ययन गर्न १ गएको वर्षको माघ ११ गते भौतिक योजना तथा यातायात मन्त्रालयले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय यातायात सुधार सुझाव कार्यदल बनाएको थियो ।साभार— उज्यालो

 


सम्बन्धित समाचार