Logo

फाइल तस्विर

१३ माघ,वीरगञ्ज । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले यही साताभित्र विश्वासको मत लिने तयारी गरेको गरेको छ ।

मुख्यमन्त्री सरोज यादवले रेसखबरसंग कुराकानी गर्दै भने,‘म अहिले जिल्लामा छु, ३/४ दिनमा जनकपुर फर्किन्छु । त्यसपछि गठबन्धन दलहरुसंग छलफल गर्छु, अनि विश्वासको मत लिन्छु । तर त्यो भनेको यही साताभित्रै हो,विश्वासको मत लिने ।’

पाँच दिन अगाडि सरकारमा सहभागी दल जनमत पार्टीले समर्थन फिर्ता लिएको थियो । ९ माघमा जनमत पार्टीले संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएको थियो ।

किन समर्थन फिर्ता ?

एक वर्ष अघि ६ दलको समर्थनमा मधेश प्रदेश सरकार गठन भएको थियो । मुख्यमन्त्री यादवको नेतृत्वमा गठन भएको सरकारमा त्यतिबेला कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा,र जनमत पार्टी सहभागी थियो ।

तर योमध्ये अहिले जनमत पार्टी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ । जमतन पार्टी सरकारबाट बाहिरिनुको पछाडि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव मानिन्छन् ।

राजनीतिक विश्लेषकहरुका अनुसार खासमा जनतम पार्टी अध्यक्ष डा.सिके राउत र जसपा अध्यक्ष उपेन्द्र यादवबीच मधेश प्रदेशको नेता बन्ने होडबाजी छ । मूलतः यहीकारणले मधेश प्रदेशमा जनतम र जसपा एकअर्काको विपक्षमा खडा भएका छन् ।

यसलाई सहज हिसाबले बुझौं ।

जनमतका डा. राउतले बितेको प्रतिनिधि सभाको चुनावमाले धेरै अन्तरले पराजित गरिदिएपछि यो विवाद भुसको आगो झै सल्किदै थियो ।
त्यसपछि भएको बारामा भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा जसपा अध्यक्ष यादव गठबन्धन दलको उम्मेदवार बने, जुन बेला जनमत गठबन्धनमै थियो ।

त्यसको बाबजुद पनि जसपा अध्यक्ष यादवको विपक्ष जनमतले आफ्नो उम्मेदवारको शिवचन्द्र कुश्वाहालाई खडा गर्‍यो । तैपनि यहाँ भने जसपा अध्यक्ष यादव विजय बने ।
यही चुनावको बेलादेखि नै जसपाले मधेश प्रदेशको सरकारबाट जनमतलाई हटाउने रणनीतिमा लागि परेको थियो ।

जनमतका संसदीय दलका नेता महेश यादव भन्छन्,‘त्यसका लागि जनमत पार्टी सरकारमा भएको सम्झौता अनुसार मन्त्रालय टुक्र्याउनेदेखि लिएर अन्य हस्तक्षेपकारी भूमिका पनि निर्वाह गरिरहेको थियो, तर यो उनीहरुको रणनीति सफल हुन सकिरहेको थिएन् । यो रणनीतिमा उनीहरु यही ८ गते सफल भए ।’

उनका अनुसार सप्तरीका राजविराजमा मधेश कृषि विश्वविद्यालयको यही ८ गते शिलान्यास कार्यक्रम थियो, यहीबाट समर्थन फिर्ता लिने अवस्था आयो ।
‘यो विश्वविद्यालयको शिलान्यास कार्यक्रममा म मन्त्री हुँदा पनि मसंग कुनै सल्लाह गरिएन, अनि बिना सहमति नै जसपा पार्टी अध्यक्षलाई प्रमुख अतिथि बनाइयो ।

जसमा हाम्रो असहमति रहयो, अनि हामी त्यो कार्यक्रम रोक्न माग गर्‍यौं, उनी भन्छन्,‘तर कार्यक्रम रोकिएन, त्यसपछि हामी विरोध गर्न थाल्यो । त्यसपछि हामीमाथि लाठी चार्ज गर्न लगाएर विश्वविद्यालयको शिलान्यास गरियो ।’

मूलतः यहीकारणले सरकारमा बस्ने कुनै औचित्य नरहेको भन्दै हामी सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएका हौँ,’ उनले भने ।

मधेश प्रदेश सरकारमा जनमत सरकारबाट बाहिरिदा पनि मुख्यमन्त्री यादवको सरकार ‘सेफ जोन’मा छ । अर्थात् यादव नेतृत्वको सरकारसंग पर्याप्त बहुमत छ । मधेश प्रदेशमा अहिले पाँच वटा दल सरकारमा सहभागी छ ।

जसपासंगै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपा गरी पाँच वटा दल सरकारमा सहभागी छ । यो दलहरुमा कांग्रेसको २२, जसपाको १८, माओवादी केन्द्रको ९,लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेश सांसद छन् ।

१०७ जना रहेको प्रदेशसभामा अंकगणितीय हिसाबले यो ५ वटा दलका ६५ सांसद हुन्छन, जो सरकारलाई सरकारलाई चाहिने आवश्यक बहुमत भन्दा बढी हो ।


सम्बन्धित समाचार